सुनसान जानकी मन्दिरमा ‘जानकी जन्मोत्सव’ मनाइँदै


जनकपुरधाम । आज माता जानकीको जन्म भएको दिन अर्थात् जानकी नवमी।

लकडाउनका कारण सुनसान जानकी मन्दिरमा ‘जानकी नवमी’ मनाइँदैछ। वैशाख शुक्लपक्षको नवमी तिथिका दिन मध्यान्ह माता जानकीको जन्म भएको अवसरमा ‘जानकी नवमी’ मनाइन्छ।

जानकी नवमीको अवसरमा आज बिहान जन्म अभिषेक र मध्यान्ह १२ बजे जन्म आरती गरिएको छ। मन्दिरका उत्तराधिकारी महन्थ रामरोषण दास ‘वैष्णव’ले मन्दिरमा भजनकिर्तन भइरहेको बताए। उनले साँझ कलशमा दीप प्रज्वलन तथा विशेष पूजापाठ गर्ने जानकारी दिए।

‘लकडाउनका कारण प्रशासनले भीडभाड नगर्न भनेको छ,’ उनले भने, ‘त्यसैले भीडभाड गर्न चाहेका छैनौं। यद्यपि, २५-५० जना त भइहाल्छ। हामी विधिपूर्वक सामाजिक दूरी कायम गरी जानकी नवमी मनाइरहेका छौं।’ उनले भक्तजनहरूलाई घरमै जानकी माताको पूजापाठ गरेर जन्मोत्सव मनाउन अपिलसमेत गरे।

विगतका वर्षहरूमा धुमधामका साथ जानकी नवमी मनाइन्थ्यो। गत वर्ष राष्ट्रपति विद्यादेवी भण्डारी जानकी नवमीमा सहभागी भएकी थिइन्। तर, यसवर्ष मन्दिर परिसरमा कतै कोही देखिँदैन। मन्दिरभित्रै महन्थ, पुजारी र साधु सन्तहरू जानकी नवमी मनाइरहेका छन्।

जानकी नवमीको अवसरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश जारी गरेर सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा सु-स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

उनले माता जानकीको पूजा आ-आफ्नै घरबाट गर्दै कोरोना महामारी अन्त्यको कामना गर्नसमेत आह्वान गरेका छन्। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण विगतमा जसरी भव्यता दिन सक्ने अवस्था नभएको उनले जारी गरेको सन्देशमा उल्लेख छ।

प्रकाशित : २०७७ बैशाख १९, शुक्रबार १८:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ