असिना पानीले गहुँ नष्ट पारे, किसान भन्छन्- ऋण कसरी तिर्छु ?


जनकपुरधाम । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि कृषि क्षेत्रमा अत्यधिक प्रभाव परेको छ । लकडाउनका कारण किसानहरु समयमा गहुँ भित्र्याउन सकेन । वैशाख १२ मा हावाहुरीसँगै परेको असिना पानीले गहुँ खेतीलाई तहसनहस पारेको छ ।

असिना पानीले गहुँ खेतीमा क्षति पुर्याएपछि किसानहरु मारमा छन् । कतिपय किसान ब्याजमा ऋण उठाएर खेती खेती लगाएका थिए । ति किसानहरुलाई ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ । असिना पानीले खेतमै गहुँ बर्बाद गरेपछि लगानी र मेहनत पनि बेकर भएको किसानहरु बताउँछन् ।

धनुषाको शहिदनगर नगरपालिका ८ विसरभोराका ५० वर्षीय भोलाई दासले असिना पानीले गहुँमा पुर्याएर क्षति देखेर रुनु परेको बताए । उनले भने, ‘१० हजार ऋण लिएर गहुँ खेती गरेका थिए । लकडाउनका कारण समयमा काट्न सकिनँ । अस्ती परेको असिना पानीले गहुँ खेतमै सड्न थालेको छ ।’

‘यसवर्ष गहुँ राम्रो उब्जेको थियो’, उनले भने, ‘लकडाउनका कारण समयमा मजदुर पनि भेटेन । लकडाउन नभएको भए आज यतिधेरै क्षति हुने थिएन ।’ पानीले भिजेर सड्न लागेको गहुँ काट्न व्यस्त उनले भने, ‘खेती गर्न लिएको ऋण कसरी तिर्छु ? हामी जस्ता किसानको समस्या सरकार समक्ष पुर्याइदिनुस् ।’

यस्तै सोही ठाउँका ३० वर्षीय पल्टु गोहितमानले पनि असिना पानीले १ विघाको गहुँ बर्बाद पारेको बताए । ‘सिँचाई, विऊ र ट्याक्टरले हलो जोतेर डेढ विघा गहुँ खेती गर्नमा करिब २५ हजार खर्च भएको थियो’, उनले भने, ‘करिब १० कट्ठाको गहुँ घर भित्र्याइसकेको थिए । बाँकी १ विघाको गहुँ असिना पानीका कारण खेतमै सड्न थालेको छ ।’

उनले सड्न लागेको गहुँ काटेर भित्र्याउदा पनि केहि आम्दानी हुन्छ तर मजदुर नै नपाउने गरेको गुनासो गरे । उनले लकडाउनमा गहुँ काट्न जाँदा प्रहरी कुट्छन् भनेर मजदुर खेतमा जान नमानेको उनले सुनाए । उनले धेरै गाउँमा त मेयरले नै गहुँ काटेर किसानलाई सहयोग गर्यो तर यहाँका मेयरले केहि नगरेको बताए ।

असिना पानीले धनुषाको कमला नगरपालिका, बटेश्वर गाउँपालिका, क्षिरेश्वरनाथ नगरपालिका लगायतका स्थानीय तहमा क्षति पुर्याएको छ । अन्य जिल्लामा असिना पानी परेन । धनुषामा मात्रै करोडौं रुपैया बराबरको गहुँ असिना पानीले नष्ट पारेको छ ।

प्रकाशित : २०७७ बैशाख २०, शनिबार १०:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ