जनकपुरमा पुरानै मोडेलको पीसीआर मेसिन


जनकपुरधाम । गलत नतिजा दिने पीसीआर मेसिनलाई थन्काइएपछि प्रदेश २ मा अर्काे मेसिन आइपुगेको छ । प्रादेशिक प्रयोगशाला जनकपुरधाममा नयाँ मेसिन ल्याइएको हो । नयाँ मेसिन जडान गर्ने तयारी भइरहेको प्रयोगशालाले जनाएको छ ।

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघिकै मोडेलको नयाँ मेसिन पठाएको प्रयोगशालाका प्रमुख रामविनय साहले जानकारी दिए ।

‘पुनः सोही मोडेलको अर्काे मेसिन आएको छ,’ प्रादेशिक प्रयोगशालाका प्रमुख रामविनय साहले भने, ‘मेसिन मात्रै अर्काे हो । सबै थोक पहिलाकै जस्तो छ ।’ नयाँ मेसिनबाट पनि पहिलेको जस्तै दैनिक १० जनाको नमुना परीक्षण हुने साहले जानकारी दिए ।

ठूलो मेसिन पठाइदिएको भए परीक्षण गर्न सजिलो हुने भए पनि पुनः त्यही मोडेलको मेसिन पठाइएकाले परीक्षणले गति लिन नसक्ने उनको भनाइ छ ।

यो मेसिनलाई मोटरसाइकलको संज्ञा दिँदै उनले भने ‘जसरी मोटरसाइकलले एक पटकमा एक जनालाई मात्रै बोक्न सक्छ, यो मेसिन पनि यस्तै हो । अहिले हामीलाई मोटरसाइकल होइन, एकसाथ सयौं जनालाई बोक्न सक्ने रेलको आवश्यकता छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो पटक पठाइएको मेसिन गत चैत २१ गतेबाट सञ्चालनमा आएको थियो । यो मेसिनबाट एक सय दुई जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रकाशित : २०७७ बैशाख २०, शनिबार १४:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ