वामदेव गाैतमलाई ‘उपयुक्त समय’मा प्रतिनिधिसभाको उम्मेदवार बनाउने नेकपाको निर्णय


काठमाण्डाै । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले सचिवालय सदस्य वामदेव गौतमलाई प्रतिनिधिसभा चुनावको उम्मेदवार बनाउने भएको छ ।

शनिबार बसेको सचिवालय बैठकले गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेद्वार बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

गाैतमलाई उपयुक्त समयमा उम्मेदवार बनाएर प्रतिनिधिसभामा लैजान पहल गर्ने निर्णय गरेको र उहाँ प्रतिनिधिसभामा पुगेपछि प्रधानमन्त्री बन्ने बाटो स्वभाविक रुपमा खुला हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।  

साथै नेकपाको स्थायी समितिको बैठक वैशाख २५ गते बस्ने भएको छ । शनिबार बसेको सचिवालय बैठकले वैशाख २५ गते स्थायी समितिको बैठक काठमाण्डाैमा बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । स्थायी समितिको एजेण्डा तय गर्न वैशाख २४ गते सचिवालयको बैठक बस्ने पनि उहाँले जानकारी दिनुभयो ।

स्थायी समितिका २० जना सदस्यले तत्काल स्थायी समितिको बैठक बोलाउन अध्यक्ष ओलीलाई लिखित आग्रह गरेका छन् । शनिबारको सचिवालय बैठकले पार्टीको आन्तरिक जीवनमा देखिएको समस्या समाधान गर्न पार्टी एकतालाई रक्षा गर्ने र सुदृढ बनाउने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।

बैठकले पार्टी फुटका कुनै गतिविधमा संलग्न नहुन कार्यकर्तालाई निर्देशन दिने निर्णय गरेको छ । बैठकमा पार्टी र सरकार सञ्चालनका क्रममा भएका कमीकमजोरीबारे अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मालोचना गरेको र अर्का अध्यक्ष प्रचण्डलगायत नेताले पनि आत्मालोचित हुँदै अघि बढ्ने सहमति भएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

बैठकमा नेता माधव नेपाललाई तेस्राे अध्यक्ष बनाउने विषयमा भने खास छलफल नभएको उहाँले बताउनुभयो । यस्तै बैठकमा प्रधानमन्त्री ओलीले सरकारले छिट्टै संसद् बैठक बोलाउने तयारी गरिरहेको पनि जानकारी दिनुभएको थियो । 

प्रकाशित : २०७७ बैशाख २०, शनिबार २१:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ