सिरहाको औरहीमा क्लबद्वारा राहत वितरण


सिरहा । सिरहाको औरही गाउंपालिका ५ मा दलित जनकल्याण यूवा क्लब लहानले आइतबारदेखि राहत वितरण सुरु गरेको छ । दलित र प्रसुति तथा गर्भवती रहेको परिवारलाई क्लबले एक्सन एडको सहकार्यमा राहत वितरण सुरु गरेको हो ।

सामाजिक दुरी कायम गरी वडा अध्यक्ष दिलिप यादवले राहत वितरण कार्यक्रमको उद्घाटन गरे । राहतमा सेनेटाइजर, झुल, गेडागुडी, सेनेटरी प्याड र सेरेलेक्स वितरण गरिरहेको क्लबका औरही प्रतिनिधि कालेश्वर यादवले जानकारी दिए ।

उनले औरहीका सबै दलित परिवार र गर्भवती वा बच्चा जन्माएको ६ महिना भएको परिवार गरी कुल ७ सय परिवारलाई राहत वितरण गरिने बताए । उनले भने, ‘करिब दुई सय परिवारलाई आइतबार राहत वितरण गरे । बाकीलाई सोमवार र मंगलवार पनि वितरण गर्छौं ।’ औरही गाउपालिकाले भने हालसम्म राहत वितरण गरेका छैन । राहत नपाएर गरिब तथा मजदुरहरू रोगले भन्दा भोकले मर्ने स्थिति आएको छ ।

प्रमुख सिद्धार्थ यादवको लापरवाहीले राहत वितरण नभएको वडा अध्यक्ष दिलिप यादवले आरोप लगाए । उनले भने, ‘पांच वटै वडाध्यक्षले राहत वितरण गर्नुपर्ने सूची एक साता अगाडी नै गाउपालिकामा बुझाइसकेका छन् । तर गाउपालिका प्रमुखले अनेक बहाना बनाएर राहत वितरण गरेका छैन ।’

प्रकाशित : २०७७ बैशाख २२, सोमबार ०७:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ