‘थकाइको दबाइले ज्यानै लग्यो’


महोत्तरी । महोत्तरीको भंगहा नगरपालिकाको ७ नम्बर वडा कार्यालयनजिकै चमार बस्ती छ । बस्तीमा फुसले छाएका पुराना छाप्रा लस्करै छन् । बस्तीमा लकडाउनले खानाको झन् समस्या छ । तर बस्तीका पुरुषलाई  मदिरा भने अनिवार्य जस्तै छ ।

मजदुरी गर्दा लागेको थकाइ मेटन अवैध घरेलु मदिरा सेवन गर्नु समान्य रहेको स्थानीय बताउँछन् । लामो समयदेखि मदिरा सेवन गर्ने दुई जनाको मृत्यु भएपछि चमार बस्ती शोकमा डुबेको छ ।

गत बुधबार घरनजिकै वडा कार्यालसँगै रहेको पसलमा मदिरा सेवन गरेका ५० वर्षीय नथुनी महरा र ६० वर्षीय सुकदेव रामको मृत्युले दुई परिवारसहित स्थानीय शोकमा छन् । मंगलबार मदिरा व्यवसायी नागेन्द्र चौधरीको पसलमा मृतक दुवै जनाले मदिरा पिएका थिए । दिउँसो बाँस काटेर चौधरीकै पसलमा बेरा लगाएर साँझ मदिरा सेवन गरी घर फर्केका थिए । दिनहुँजस्तै मंगलबार पनि उनीहरु सँगै मदिरा खाएर घर फर्किएका थिए । बिनासितन मदिरा सेवन गरेका दुवैजना घर पुगेर केही खाएनन् । भोकै सुते ।

राति भोकै सुतेका नथुनीको भोलिपल्टै मृत्यु भयो । नथुनीको मलामीबाट फर्केका सुकदेवको मुख मलिन थियो । सँगै मदिरा सेवन गरेका मित्र गुमाउनुको पीडासँगै विषाक्त मदिराले उनको शरीर काँप्न थालेको श्रीमती रामवती देवीले बताइन् । दम बढेको र पखालाले एकदिनमै थला परेका उनले खिचडी खाएपछि वान्ता गरेको रामवतीले बताइन् । नथुनीको मलामी गएर फर्केका सुकदेवलाई उपचारका लागि पहिला रामगोपालपुर पुर्‍याए । त्यहाँबाट रेफर गरेर जलेश्वर अस्पताल लगे । त्यहाँ पनि उपचार सम्भव नभएपछि जनकपुर प्रादेशिक अस्पताल पुर्‍याइयो । अस्पताल पुऱ्याउँदा उनको मृत्यु भइसकेको थियो ।

चमार बस्तीका नथुनी र सुकदेवसँगै अवैध विषाक्त मदिरा सेवन गर्ने लालबावु सिंह, सिकिन्दर सिंह, महेन्द्र चौधरी, मोहन चौधरीको विषाक्त मदिरा सेवनबाट मृत्यु भएको वडाध्यक्ष बासुदेव सिंहले बताए ।

प्रकाशित : २०७७ बैशाख २२, सोमबार १५:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ