सांसद अपहरण प्रकरण : दुवै पक्षद्वारा मानव अधिकार आयोगमा उजुरी


काठमाडौं । सांसद अपहरण प्रकरणमा आफु निर्दोष रहेको दाबी गर्दै एकअर्कालाई कारवाहीको माग सहित दुवै पक्षले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् । समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले आफ्नो अपहरणसम्बन्धी जाहेरी जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा आज दर्ता गराउनुभएको छ । 

यसअघि महानगरीय प्रहरी परिसर र सरकारी वकिलको कार्यालयले सो जाहेरी लिन मानेका थिएन । सरकारी वकिल कार्यालयका प्रमुख एवं सहन्यायाधीवक्ता हरि रेग्मीले सांसद यादवको जाहेरी दर्ता भएको जानकारी दिदै कानूनी व्यवस्था अनुसार, जाहेरी तत्काल प्रहरीमा पठाइदिने बताउनुभयो । 

महोत्तरीबाट जबर्जस्ती काठमाडौं ल्याइएको भन्दै सांसद यादवले यसअघि नै सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा पूर्वआईजीपी सर्वेन्द्र खनालविरुद्ध मानव अधिकार आयोगमा उजुरी दिनुभएको थियो ।

आजै मानव अधिकार उल्लंघन र दुरुत्साहन भएको भन्दै सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक खनालले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको योजनामा आफूहरुलाई फसाउन खोजिएको आरोप लगाउदै आयोगमा उजुरी दिएका छन् । सांसद यादव आफ्नै राजीखुशीमा काठमाडौं आएको उनीहरुको तर्क छ । 

उजुरीमा उनीहरुले पूर्वप्रधानमन्त्री भट्टराई, भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डे, आङकाजी शेर्पाले आफूहरुविरुद्ध कानुनअनुसार कसुर हुने कार्य गरेको बताएका छन् ।

उजुरीमा पूर्वप्रधानमन्त्री भट्टराईलगायतलाई शरीर बन्धक कसुरमा कारबाही गर्न माग गरिएको छ । काठमाडौंको एक होटेलबाट निस्किएपछि सांसद यादवलाई पूर्वप्रधानमन्त्री भट्टराईले मोबाइल अफ गर्न लगाएर घरबाटै निस्किन नदिएको आरोप उजुरीमा लगाइएको छ । 

मर्निङ वाकमा निस्किएका यादवलाई गाडीमा फर्कन सहयोग गरेको भन्दै आङकाजी शेर्पा र भट्टराई शरीर बन्धक लिएको कसुरमा कारबाही गर्न सिफारिससहितको निर्देशन दिन पनि उजुरीमा माग गरिएको छ ।

उजुरीमा भट्टराईले सामाजिक सञ्जालमा आफूहरुलाई र प्रधानमन्त्रीलाई लक्षित गर्दै जातीय सद्भाव भड्काउने खालका अभिव्यक्ति दिएको आरोप लगाउँदै विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही गर्न माग गरिएको छ । निदेवन बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले संविधानले दिएको दायरभित्र रहेर घटनाको अनुसन्धान गरिने बताउनु्भयो । 

प्रकाशित : २०७७ बैशाख २२, सोमबार २०:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ