प्रदेश २ का जिल्लाहरुलाई रेडजोनको सूचीमा राखियो


जनकपुरधाम । प्रदेश २ का जिल्लाहरुलाई संघीय सरकारले कोरोना संक्रमण फैलन सक्ने खतराको दृष्टिगत गर्दै अति जोखिमपूर्ण (रेडजोन) क्षेत्रको सूचीमा राखी लकडाउनलाई अझ बढी प्रभावकारी रुपमा अगाडि बढाएको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी निरीक्षक तिलक सुनारका अनुसार कोरोना संक्रमणको उच्च जोखिममा रहेको यो प्रदेशको आठवटै जिल्लामा लकडाउनलाई प्रभावकारी रुपमा लागू गरी सीमा सतर्कता बढाइएको छ ।

प्रदेश नं २ प्रहरी कार्यालयले जनाए अनुसार भारतीय सीमासँग जोडिएको प्रदेश नं २ का आठ जिल्लाको लम्बाइ ४ सय २८ किलोमिटर रहेको छ । सो क्षेत्रमा ३ सय २९ वटा चेक प्वाइन्ट खडा गरी सीमा क्षेत्रको आउजाउमा व्यापक कडाइ गरिएको छ ।

खुला सीमाका कारण भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम बढेपछि प्रदेश प्रहरी कार्यालयले सीमानाकामा चेक प्वाइन्ट खडा गरी निगरानी बढाएको हो । लकडाउनलाई सफल पार्न प्रहरीले कडाइ गरेपछि सामाजिक दूरी कायम गर्नेमा सुधार हँुदै आएको जनाएको छ ।

प्रदेश नं २ मा अहिलेसम्म कोरोना पोजेटिभको संख्या १० पुगेको छ । जसमध्ये एकजना उपचारपछि घर फर्किसकेको र उनको आरडिटी परीक्षण गर्दा पुनः कोरोना पोजेटिभ देखिएको थियो । ती १० जनाको वीरगञ्जस्थित नारायणी कोभिड अस्पतालमा उपचार भइरहेको छ ।

हाल प्रदेश नं २ मा आइसोलेशनमा ३० र क्वारेन्टाइनमा एक हजार १५७ जना रहेको जनाइएको छ ।

प्रकाशित : २०७७ बैशाख २३, मंगलवार १८:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ