सरकारले पठायो २८ जिल्लामा आरडीटी किटसहित आवश्यक स्वास्थ्य सामग्री


काठमाण्डाै। सरकारले विभिन्न २८ जिल्लामा १४ हजार सात सय र्‍यापिड डायग्नाेस्टिक टेस्ट (आरडीटी) किटसहित आवश्यक स्वास्थ्य सामग्री पठाएको छ ।

प्रदेश १, प्रदेश २, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका २८ जिल्लामा परीक्षण विस्तार गर्ने योजनासहित स्वास्थ्य सामग्री पठाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।

यस्तै सरकारले काठमाण्डाै महानगरपालिका १३ मा तीन सय जनाकाे पीसीआर परीक्षण र सात सय जनाकाे आरडीटी परीक्षण गर्ने लक्ष्यसहित टोली खटाएको छ । तरकारी बजार, ढुवान, सरसफाइलगायत अति आवश्यक क्षेत्रमा कार्यरतहरुका लागि पीसीआर र आरडीटी परीक्षण सुरु गरिएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

यसैबीच नेपालका २२ जिल्लामा कोरोना सङ्क्रमण फैलिएको छ । बिहीबार तीन जना सङ्क्रमित थपिएसँगै २२ जिलामा दुई सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे मन्त्रालयका प्रवक्ता देवकोटाले बताउनुभयो । सङ्क्रमितमध्ये एक सय ९७ जना पुरुष र ४८ जना महिला रहेका छन् ।

नेपालमा २० देखि ५० वर्ष उमेर समूहकालाई बढी सङ्क्रमण पुष्टि भएकोले सबै उमेर समूहकाले विशेष सावधानी अपनाउनुपर्ने मन्त्रालयले आग्रह गरेको छ । अहिलेसम्म सङ्क्रमितमध्ये ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यसैबीच सरकारले अहिलेसम्म ८२ हजार तीन सय २७ जनाको कोरोना परीक्षण गरेको छ । १५ हजार ६ सय जना विभिन्न क्वरेण्टीनमा रहेका छन् । दुई सय ७२ जना आईसाेलेशनमा छन् ।

बिहीबारसम्ममा ३६ हजारभन्दा धेरै व्यक्तिले मोबाइल एप्लिकेशनमार्फत काेराेनाबारे स्वमूल्याङ्कन गरेका छन् । यसैबीच मन्त्रालयले गर्दै आएको पत्रकार सम्मेलन भोलि शुक्रबारदेखि दिउँसो ३ बजेर १५ मिनेटमा हुने भएको छ । 

प्रकाशित : २०७७ जेष्ठ १, बिहीबार १९:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ