वीरगन्ज भन्सारमा लकडाउनको असर : २ महिनामा २३ अर्ब राजश्व घाटा


वीरगन्ज । कोरोना संक्रमणको महामारीले वीरगन्ज नाकाको अन्तर्राष्ट्रिय कारोबार प्रभावित हुँदा भन्सार राजश्व संकलनमा पनि असर परेको छ ।

आयात निर्यातको कारोबार प्रभावित हुँदा वीरगन्जमा रहेका भन्सार कार्यालयको राजश्व संकलनमा पनि असर परेको हो । कोरोना महामारी नियन्त्रणका लागि नेपालमा चैत ११ देखि र भारतमा चैत १२ गतेदेखि लकडाउन जारी छ ।

लकडाउनमा भारत तथा तेश्रो मुलुकबाट मालवस्तुको आयत सहज नहुँदा त्यसको प्रत्यक्ष असर भन्सार राजश्व संकलनमा परेको हो । वीरगन्ज नाकामा वीरगन्ज भन्सार (आइसीपी) र सिर्सिया सुख्खा बन्दरगाह भन्सार गरी दुई भन्सार कार्यालय छन् । लकडाउले चैत र बैशाख दुवै महिनामा, वीरगन्जका भन्सार कार्यालयले लक्ष्य भन्दा २३ अर्ब कम राजश्व संकलन गरेका छन् ।

गत बैशाख महिनामा मात्रै दुवै भन्सारले भन्सार विभागले दिएको लक्ष्य भन्दा १२ अर्ब ६७ करोड ८१ लाख कम राजश्व संकलन गरे । बैशाख महिनामा विभागले दुवै भन्सारलाई १८ अर्ब ४८ करोड ६६ लाखको लक्ष्य दिएको थियो । तर दुवै भन्सार कार्यालयले ५ अर्ब ८० करोड ८४ लाख रुपैयाँ मात्रै राजश्व उठाउन सकेका हुन् ।

गत चैतामा पनि यी दुवै भन्सार कार्यालयले भन्सार विभागले दिएको लक्ष्य भन्दा करिब ११ अर्ब १ करोड ४३ लाख कम राजश्व संकलन गरेका थिए । चैतमा दुवै भन्सार कार्यालयलाई विभागले १८ अर्ब ४१ करोड १८ लाख रुपैयाँ राजश्व संकलनको लक्ष्य दिएकोमा दुवै भन्सारले ७ अर्ब ३९ करोड ७५ लाख मात्र राजश्व संकलन गर्न सकेका थिए ।

बैशाख महिनामा १५ अर्ब १२ करोड ७७ लाखको लक्ष्य पाएको वीरगन्ज भन्सार कार्यालयले लक्ष्यको २९ प्रतिशत मात्र अर्थात ४ अर्ब ४१ करोड ८९ लाख मात्रै राजश्व उठाएको छ । बैशाखमा ३ अर्ब ३५ करोड ८८ लाखको लक्ष्य पाएको सिर्सिया सुख्खा बन्दरगाह भन्सारले पनि लक्ष्यको ४० प्रतिशत मात्र अर्थात १ अर्ब ३८ करोड ९५ लाख रुपैयाँ मात्रै राजश्व संकलन गर्न सकेको छ ।

यसअघि चैतमा पनि वीरगन्ज भन्सार कार्यालयले लक्ष्यको ३५.६१ प्रतिशत मात्र अर्थात ५ अर्ब ३६ करोड ७५ लाख रुपैयाँ मात्र राजश्व संकलन गरेको थियो । सिर्सिया सुख्खा बन्दरगाह भन्सारले पनि चैतमा लक्ष्यको ६४ प्रतिशत मात्र २ अर्ब ३ करोड मात्रै राजश्व संकलन गरेको थियो ।

दैनिक ५२ करोडबाट ५ करोडमा खस्कियो

वीरगन्ज भन्सार कार्यालयले सामान्य अवस्थामा दैनिक औसतमा ५२ करोड राजश्व संकलन गर्ने गरेको थियो । तर लकडाउन सुरु भएपछि दैनिक औसतमा ५ देखि ६ करोड मात्रै राजश्व संकलन भइरहेको भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक ढुण्डी प्रसाद निरौलालले जानकारी दिए ।

लकडाउन यता इन्धन बाहेक अरु सबै सामानको आयात ह्वात्तै घटेका कारण त्यसको असर राजश्व संकलनमा परेको उनले बताए । अहिले जुन राजश्व उठेको छ त्यो इन्धनले धानेको हो, इन्धनपछि सबै भन्दा बढि राजश्व दिने औद्योगिक कच्चा पदार्थ र नयाँ सवारी साधन हुन्, तर औद्योगिक कच्चा पदार्थको आयात नगण्यको बराबर छ, नयाँ सवारी साधन पनि आयात भएको छैन,’ उनले भने ।

चैत ११ देखि लकडाउन भएपछि भारत तथा तेश्रो मुलुकबाट पहिलेको तुलनामा १० प्रतिशत भन्दा पनि कम मालवस्तु आइरहेको निरौलालले बताए । सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले पनि लकडाउनका कारणले मालवस्तुको आयात कम हुदा त्यसको प्रत्यक्ष असर भन्सार राजश्व संकलनमा परेको बताए । भारत तथा तेश्रो मुलुकबाट रेलमार्ग हुँदै मालसामान पहिलेको भन्दा लकडाउन यता ६० प्रतिशत भन्द्या पनि कम नै आइरहेको उनले बताए ।

प्रकाशित : २०७७ जेष्ठ ३, शनिबार १२:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ