राहतको विषयमा विवादपछि रौतहटमा झडप, प्रहरीद्वारा १२ राउण्ड हवाई फायर


रौतहट : भारतबाट उद्धार गरेकालाई राख्न बनाइने क्‍वारेन्टाइनको विषयलाई लिएर विवाद हुँदा रौतहटमा प्रहरीले हवाई फायर गरेको छ ।

कटहरियामा क्‍वारेन्टाइन निर्माण गर्न स्थानीयले अवरोध गरेपछि झडपको स्थिति सिर्जना भएको हो । झडप नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाई फायर गरेको छ ।

कटहरिया नगरपालिकाले वडा नं १ भसेडवा माध्यमिक विद्यालयमा भारतबाट आएकालाई राख्न क्‍वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको थियो । तर स्थानीयसँगको विवादपछि स्थिति झडप पुगेको हो । बाक्लो बस्तीसँग जोडिएको विद्यालयमा क्‍वारेन्टान राख्न नदिने भन्दै स्थानीयले ढुंगामुढासमेत गरेका थिए ।

झडपमा परी असई हीरालाल साहको टाउको फुटको छ । प्रदर्शनकारीको ढुंगाले लागेर घाइते भएका उनलाई उपचारका लागि गरुडा ल्याइएको छ ।

यसैगरी चन्द्रपुर नगरपालिकामा पनि भारतबाट उद्धार गरिएकाले अझै बस्ने ठाउ पाएका छैनन् । जनज्योति मावि चन्द्रनिगाहपुरमा नगरपालिकाले राख्ने जनाए पनि स्थानीयले विरोध गरेपछि उनीहरु रातभरि फुटबल चौरमा सुतेका थिए ।

स्थानीयले उग्र रुप लिएपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक रविराज खड्काले बताए ।

कटहरिया ५ को जनता माध्यमिक विद्यालयमा रहेको एक मात्र क्‍वारेन्टाइनमा दुई सयभन्दा बढी व्यक्ति भएपछि नगरपालिकाले अर्को स्थानमा पनि क्‍वारेन्टाइन बनाउन खोजेको थियो ।

प्रकाशित : २०७७ जेष्ठ १५, बिहीबार १८:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ