नारायणी अस्पतालमा जनरल सेवा सुरु गर्न ढिलाइ हुदै ?


पर्सा । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत सबै कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । अस्पताल निःसंक्रमण (स्यानिटाइज्ड) गर्ने काम दैनिक जारी छ ।

स्वास्थ्य मन्त्रालयले पनि नारायणीलाई पत्राचार गरेर बहिरंग लगायतका सेवा सुरु गर्न निर्देशन दिइसकेको छ । तर तत्काल सबै सेवा सुरु गर्न जनशक्ति अभाव छ । त्यसैले विरामी भर्ना गरिहाल्नु नपर्ने खालका ओपीडीहरु क्रमशः सञ्चालन गर्दै जाने योजनाअनुसार तयारी गरिरहेको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. मदन उपाध्याय बताउँछन् ।

‘डायलायसिस सेवा लिइराखेका विरामीहरुको साथै त्यहाँ खट्ने स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गरेर आइतबारबाट डायलायसिस सेवा शुरु गर्ने लक्ष्य लिएका छौं,’ मेसु उपाध्यायले भने, ‘छाला, नाक, कान घाँटी, दाँत लगायत विरामी भर्ना गरिहाल्नु नपर्ने खालका ओपीडीहरु क्रमशः सञ्चालन गर्दै जान्छौं ।’ ओपीडीमा सामाजिक दुरी कायम गराएर दैनिक २०–२५ जनालाई सेवा दिन सक्ने वातावरण मिलाउने उनको भनाइ छ ।

जनशक्ति अभाव

नारायणी अस्पतालले छाती, इन्डोक्राइनोलोजी, ग्याँस्ट्रोलोजी, सर्जरी, अर्थो स्पाईन सर्जरी, गाइनो, हाडजोर्नी, छाला, फिजिसियन, इमर्जेन्सी, मानसिक रोग, बाल रोग सम्बन्धी रोगको उपचार, प्याथोलोजी, एक्स–रे, भिडियो एक्स–रे, सिटिस्क्यान, डायलायसिस र फार्मेसी सेवा समेत दिँदै आएको छ ।

सरकारले नारायणीलाई विशेषज्ञ सेवा सहितको टर्सरी अस्पताल घोषणा गरे पनि दरबन्दी अनुसार कर्मचारी दिन सकेको छैन । त्यसैले माथिल्लो निकायमा जनशक्ति माग गरिएको मेसु उपाध्याय बताउँछन् ।

अस्पतालमा नेपाल सरकारका १ सय ९९ जना र अस्पताल विकास समितिका १ सय ७४ जना कर्मचारी कार्यरत छन् । नारायणी अस्पतालमा कोरोना भाइरस संक्रमितको उपचारमा खटेका कारण ६ जना डक्टर, स्टाफ नर्स र पारामेडिक्स १० जना, २ जना स्वीपर, ५ जना कार्यालय सहयोगी होटल क्वारेन्टाइनमा छन् । ७ जना डाक्टर, ४ जना स्वीपर, १२ जना स्टाफ नर्स र पारामेडिक्स होम क्वारेन्टाइनमा छन् । नारायणी मातहतको गण्डक कोभिड अस्पतालमा ४ जना डाक्टर, ५ जना स्टाफ नर्स, पारामेडिक्स र २ जना स्वीपर खटिएका छन् ।

पीसीआर प्रयोगशालामा जनशक्तिको उपयोग र पीसीआर परीक्षणको भार थपिँदै गएकाले जनरल प्रयोगशाला सञ्चालन गर्न विद्यमान जनशक्ति अपुग छ । ४ जनाको दरबन्दी भएको ठाउँमा ८ जना कर्मचारी खटिएका छन् । जनरल ल्याब सञ्चालनका लागि पनि छुट्टै जनशक्ति चाहिन्छ ।नारायणी अस्पतालको जनरल सेवा सुरु गर्नुपर्ने माग राखेर केही युवा २७ दिनदेखि घर–घरमै धर्ना बसेका छन्

४० जनाको दरबन्दी रहेकोमा नारायणीमा १२ जना मात्रै नर्सिङ स्टाफ कार्यरत छन् । समिति तर्फका तीन जना र केही आमा सुरक्षा कार्यक्रमका नर्सिङ स्टाफ गरेर २५ जनालाई कोरोना संक्रमितको उपचारमा खट्न तयार पारिएको थियो ।

तत्काल जनरल सेवा सुरु गर्दा १० जना मात्रै खट्न सक्ने स्थिति रहेको स्टाफ नर्स श्रुति साह बताउँछिन् । ‘पहिला नर्सिङ कलेजबाट तालिमका लागि आउने विद्यार्थीहरुले पनि सघाउँथे । अहिले त्यस्तो अवस्था छैन,’ साह भन्छिन् ।

प्रकाशित : २०७७ जेष्ठ १७, शनिबार ०७:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ