आज थप २ जना कोरोना संक्रमणबाट मृत्यु ,मृत्यु हेनेको संख्या ८ पुग्यो


काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या आठ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मृत्यु भइसकेका दुई जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै मृतकको संख्या आठ पुगेको हो। यसअघि नेपालमा कोरोनाकै कारण ६ जनाको मृत्यु भएको थियो। 

प्रवक्ता देवकोटाका अनुसार दैलेखको दुल्लु नगरपालिका–७ को क्वारेन्टाइनमा रहेका दुल्लु–११ का ३५ वर्षीय पुरुष र बाजुराकी दुई वर्षीया बालिकाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या आठ पुगेको हो। 

दैलेखका पुरुषको शनिबार मृत्यु भएको थियो भने बाजुराकी बालिकाको आइतबार बिहान बाजुरा अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो।

बाजुराको बुढिगंगा नगरपालिका १ धुरालसैनमा माविको क्वारेन्टाइनमा रहेकी बालिकाको स्वास्थ्यमा समस्या आएपछि जेठ १५ गते साँझ सदरमुकाम मार्तडीको आइसोलेसनमा राखिएको थियो।बच्चामा पखाला, ज्वरो, श्वासप्रश्वासमा समस्या देखिएको थियो। आठ दिनअघि उनी आमा बुवासँग भारतबाट आएकी हुन् । भारतबाट आएपछि उनीहरुलाई बुढिगंगा नगरपालिका-१ को धुरालसैन माविको क्वारेन्टाइनमा राखिएका थियो ।

बालिकासँगै आइसोलेसनमा उनका आमा र बुवासमेत राखिएको थियो । बालिका भारतबाट आउने क्रममा बाटोमा बिरामी परेको आफन्तले बताएका थिए । सुरुमा धुरालशैन क्वारेन्टाइनमा उपचार गरिए पनि निको नभएपछि सदरमुकामको आइसोलेसनमा रिफर गरिएको थियो । मृतक बालिकाकी आमाको समेत पीसीआर रिपाेर्ट पोजिटिभ  आएको छ । 

शनिबार बिहान दैलेखको दुल्लु नगरपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका युवकको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । भारतको गुजरातबाट १० दिन अघि फर्किएका ३५ वर्षीय युवक दुल्लु नगरपालिका ११ का हुन् । उनको शनिबार बिहान चिया खाइसकेपछि मृत्यु भएको थियो । 

नेपालमा कोरोना जित्नेको संख्या भने २२० पुगेको छ।  आइतबार एक जनाको डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या भने २२० पुगेको छ। जसमध्ये १७२ पुरुष छन् भने ४८ जना महिला छन्। आइतबार चितवनको भरतपुर अस्पतालबाट मकवानपुर हेटौंडाकी २५ वर्षीया महिलाको डिस्चार्ज भएको हो।

आइतबार एकै दिन १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देवकोटाका अनुसार योसँगै संक्रमितको संख्या १५ सय ६७ पुगेको छ।  अहिलेसम्म क्वारेन्टाइनमा एक लाख १९ हजार एक सय ९२ जना छन् भने आइसोलेसन एक हजार तीन सय ४९  जना रहेका छन्।  

प्रवत्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ६९ हजार पाँच सय ८२ र आरडीटी विधिबाट एक लाख ११ हजार एक सय ९  जनाको नमुना परीक्षण गरिएको छ।  पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट दुई हजार आठ सय ५३  र आरडीटी विधिबाट चार हजार ५४ जनाको नमुना परीक्षण भएको छ। 

प्रकाशित : २०७७ जेष्ठ १८, आईतवार १७:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ