सहरमा लकडाउनको भद्र अवज्ञा, मध्यम वर्गको प्रतिरोध


काठमाडौं । सरकारले लकडाउनको अवधि थपेर जेठ ३२ सम्म पुर्‍याउने निर्णय  गरेता पनि विहीबारदेखि देशका विभिन्न सहरहरूमा लकडाउनको ‘भद्र अवज्ञा’ सुरू भएको छ। काठमाडौं, धनगढी, नेपालगन्ज, वीरगञ्ज, हेटौंडा, बिराटनगर लगायत देशका मुख्य सहरका साना व्यवसायीले  विहीबारदेखि पसलहरू खोलेर सरकारविरूद्ध ‘माैन विद्रोह’ थालेका छन् ।

१९ जेठदेखि नै धनगढीका व्यापारीहरू चालेको यो कदम २२ गतेसम्म आइपुग्दा काठमाडौं लगायत देशैभरि फैलिएको छ । विहीबारदेखि  काठमाडौं सहरका  साना व्यवसायीहरू पनि लकडाउनविरुद्ध उत्रिएका छन् । लकडाउनको अवज्ञा राजधानी बाहिरका अन्य सहरमा पनि फैलिएको  छ।

व्यवसायीहरूले सटर खोल्न थालेपछि कतिपय सहरमा प्रशासनले लचकता अपनाएको छ । हेटौंडा, धनगढीलगायत सहरमा भने पसल खोल्न थालेका व्यापारी र प्रहरीबीच बुधबार घम्साघम्सी नै पर्‍यो ।

विहीबार काठमाडौंको न्युरोड लगायतका विभिन्न बजारहरु बिहान ११ बजेसम्म खुले ।जुत्ता चप्पल, कपडा, घडी, इलेक्ट्रोनिक्स लगायतका पसलहरु विहीबारदेखि काठमाडौंमा खुलेका छन् । पसलहरु खुलेपछि काठमाडौंका सडक किनारामा गाडी पार्किङ  बाक्लिएको देखिन्थ्यो । सडकमा गुड्ने गाडीको संख्या पनि उल्लेख्य  देखिए ।

उपत्यकामा विहीबार तीन जिल्लाका सिडियोहरुको बैठक नै बस्यो । तर, व्यापारीले सुरु गरेको भद्र अवज्ञालाई रोक्न सक्ने स्थितिमा प्रशासन देखिएन ।

बाँकेमा विहीबारदेखि जनस्तरको दाबावका कारण लकडाउन खुकुलो भएको छ । बिहान ११ देखि ३ बजेसम्म कपडा, फेन्सी जुत्ताचप्पल र गहना पसलहरु खुलेका छन् ।

धनगढीमा पनि व्यवसायीले प्रशासनको अवरोधकै बीचमा पसल खोलेका छन् । हेटौंडामा केही व्यवसायीले बिहान लकडाउन अवज्ञा गरेर पसल खोलेका छन् ।

बिराटनगरमा पनि होटल, रेस्टुरेन्ट ब्युटीपार्लर र सैलुन बाहेकका पसलहरु बिहान ११ बजेसम्म खुला भए ।

वीरगञ्जका अधिकांश ब्यापारीले भने पसल खोल्ने आँट गर्न सकेनन् । तर, सामान्य अवज्ञाको प्रयास भने भयो ।

कोरोनाको उच्च जोखिममा रहेका नेपालगञ्जजस्तो सहरी भेगका व्यापारीहरू पनि पसल खोल्ने अडानमा रहे । दबाव झेल्न नसकेर प्रशासनले जोखिमकै बीच ‘आंशिक अनुमति’ दिएको छ । बिराटनगरमा पनि प्रशासनले बिहीबारबाट होटल-रेस्टुरेन्ट, ब्युटी पार्लर र सैलुनबाहेकका पसल खोल्न अनुमति दिएको छ ।

काठमाडौंमा मंगलबार नै बौद्ध क्षेत्रमा व्यवसायीले लकडाउन नमान्ने भन्दै पसल खोलेका थिए । बिहीबार नेपाल व्यवसायी राष्ट्रिय महासंघकै अगुवाइमा न्युरोडलगायतका क्षेत्रमा पसलहरू खुलेका छन् ।

सरकारले पटक-पटक लकडाउन गरेर निम्नवर्गीय नागरिकको गाँसमाथि संकट थपेको साना व्यवसायीहरूको गुनासो छ । लकडाउन अझै जारी रहने हो भने जीविका थप कष्टकर हुने निष्कर्षमा पुगेका साना व्यापारी-व्यवसायीले सरकारी निर्णयको अवज्ञा गर्दै सटर खोल्ने निर्णय गरेका हु्न् ।

काठमाडौंको न्युरोडमा बिहीबार विहान देखिएको दृश्यलकडाउनको मोडालिटी परिवर्तन गर्ने सरकारी तीन-तीन पटक लकडाउन थप्ने निर्णय गर्दा पनि कार्यान्वयनमा आएन । बरु लकडाउन कडा बनाउन सेना परिचालन गर्नेसम्मको निर्णय मन्त्रिपरिषद्ले गरेपछि झण्डै साढे २ महिनादेखि घरभित्रै गुम्सिएर बसेकाहरूले स्वतःस्फूर्त विद्रोही स्वभाव देखाउन थालेका हुन् ।

‘सरकार काम नगर्ने, मार हामीले भोग्ने ?’

व्यापारीहरू सरकारको कार्यशैलीबाटै आजित भएको बताउँछन् । सरकारले आफ्नो दायित्व पूरा नगरेको मार आफूहरूले भोग्नुपरेको उनको गुनासो छ ।

प्रकाशित : २०७७ जेष्ठ २२, बिहीबार २२:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ