सोलुखुम्बुमा बालविवाह रोकिएन


सोलुखुम्बु । बालविवाहलाई सरकारले कानूनीरूपमा बर्जित गरे पनि सोलुखुम्बुमा भने कमी आउन सकेको छैन् ।

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा आइतबार धुमधामका साथ भइरहेको बालविवाह रोकिएको छ ।

आइतबार तामझामका साथ दुलहीको घरमा दुलहासहित जन्ती आएको गोप्य सूचना पाएपछि जनप्रतिनिधि र प्रहरी पुगेर उक्त बालविवाह रोकेको वडाध्यक्ष भूपालसिं राईले जानकारी दिए ।

वडाध्यक्ष राईका अनुसार लोखिमका एक १९ वर्षीय युवक र १६ वर्षीया युवतीबीच दुवैको मञ्जुरीमा नै विवाह भइरहेको थियो ।

प्रहरी र जनप्रतिनिधि बेहुलीको घरैमा पुगेर दुवै पक्षलाई सम्झाइबुझाई विवाह रद्द गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ को उपदफा २ मा २० वर्ष नपुगी मञ्जुरीमा नै गरिएको विवाहलाई कानून विपरीत मानिएको छ ।

उमेर नपुगी भएको विवाह स्वतः रद्द हुनेसमेत उल्लेख गरिएको छ । साथै उपदफा २ मा विवाह गर्ने गराउने व्यक्तिलाई समेत तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ ।

प्रकाशित : २०७७ जेष्ठ २६, सोमबार १०:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ