प्रहरीले आज पनि पसल खोल्न दिएन


काठमाडौं । न्यूरोड क्षेत्रका व्यापारीहरुलाई पसल खोल्न बुधबार पनि प्रहरीले रोक लगाएको छ । तीनदेखि खुल्ला हुँदै आएका न्यूरोड क्षेत्रका पसलहरु मंगलबार प्रहरीले एक्कासी बन्द गराएको थियो ।

तर व्यापारीहरुले बुधबार पनि पसल खोल्ने घोषणा गरेका थिए । सो घोषणाअनुसार बिहानै पसल खोल्न गएका व्यापारीहरुलाई प्रहरीहरुले रोकेका छन् । बुधबार बिहान अघिल्लो दिनजस्तो प्रहरी र व्यापारीबीच घम्साघम्सी भने भएन ।

पाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले लकडाउन खुकुलो बनाउनेबारे बुधबार सरकारले केही पनि निर्णय नगरेमा आन्दोलन चर्काउने चेतावनी दिए । ‘हामी आज बाटो हेर्छौं, आज केही निर्णय भएन भने भोलि सयौं व्यापारीहरु सडकमा निस्किन्छौं,’ कटुवालले भने ।

उनले व्यवसाय सन्चालन गर्न नसक्ने अवस्थामा पुगेको भन्दै अब सरकारलाई ताला चाबी बुझाउने बताए । ‘लकडाउनको कुनै मोडालिटी पनि चेन्ज नगर्ने र व्यावसायीलाई राहत प्याकेज पनि घोषणा नगर्ने सरकारले हाम्रो सम्पूर्ण जिम्मा लिओस्,’ अध्यक्ष कटुवालले भने ।

यसअघि लकडाउनको मिति थपिँदै गर्दा सरकारले कुनै विकल्प नदिएको बताउँदै व्यापारीहरूले २२ जेठको बिहानदेखि पसल खोल्न सुरू गरेका थिए । सो दिनपछि सबै पसलहरु ११ बजेसम्म खुला थिए ।

तर मंगलबार एक्कासी प्रहरीले पसलहरु बन्द गराउँदै हिँडेपछि व्यापारीहरु रुष्ट भएका छन् ।

प्रहरी अधिकृतहरुले भने सरकार कुनै नयाँ निर्देशन नदिएकाले लकडाउनमा कडाइ गरिएको बताएका छन् । उपत्यका प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले अनलाइनखबरसँग भने, ‘हामीले सरकारको आदेश कार्यान्वयन गर्ने हो, पसल सञ्चालन गर्न दिने भन्ने मोडालिटी छैन ।’

यसैबीच बुधबार लकडाउनको मोडालिटीलगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै छ ।

प्रकाशित : २०७७ जेष्ठ २८, बुधबार ०८:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ