नयाँ नक्साको खुसीयाली पाल्पामा पनि, राष्ट्रिय गान गाएर दीप प्रज्वलन


पाल्पा। प्रतिनिधिसभाले निशानछापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि पाल्पामा पनि खुसीयाली मनाइएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट युवा संघको आयोजनामा नेपालको नक्सा बनाएर दीप प्रज्वलन गरी राष्ट्रिय गानसमेत गाइएको थियो।  निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि पाल्पामा खुसी छाएको हो। 

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई शनिबार निशान छापमा प्रयोग गर्ने सम्बन्धी विधेयकलाई प्रतिनिधिसभाले सर्वसम्मत पास गरेको हो। योसँगै जिल्लाको सदरमुकाम तानसेनको सित्तलपार्टीस्थित सडकमा नेपालको नक्सा नै बनाएका हुन्।  साथै नक्साको घेरामा दीप प्रज्वलन गरिएको थियो ।

लगत्तै उपस्थित सबैले राष्ट्रिय गान गाएका थिए। दीप प्रज्वलन कार्यक्रममा नेकपा पाल्पाका अध्यक्ष तथा प्रदेश नम्बर ५ का सांसद नारायण आचार्यले राष्ट्र र राष्ट्रियताको पक्षमा अहिलेको सरकार रहेको बताए।  कार्यक्रममा नेकपाका नेता, युवा संघका नेता तथा कार्यकर्ता, सर्वसाधारण र केही विपक्षी दलका कार्यकर्ताको समेत उपस्थिति थियो।   

प्रकाशित : २०७७ जेष्ठ ३१, शनिबार २२:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ