रिपोर्ट समयमै नआउँदा अस्पतालभित्रै बन्धकजस्तै बन्न थाले स्वास्थ्यकर्मी


पर्वत । ‘कोही स्टोरमा, कोही अपरेसन थिएटरमा, कोही, इमर्जेन्सीमा, कोही कहाँ कोही कहाँ सुतेका छौँ, हिजो पनि अस्पतालभित्रै भुईँमा म्याट ओछ्याएर सुतेका हौँ,’ पर्वत अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीले नाम नबनाउने सर्तमा भने, ‘भुईँमा सुत्नुको पीर त होइन परेपछि सुत्नै पर्नी। पोखराले रिपोर्ट नपठाएर बरर्बाद पारेको छ। अन्धाधुन्ध भयो।’ ती स्वास्थ्यकमीएले भनेको जस्तै अवस्था छ पर्वत अस्पतालभित्रको। गत शुक्रवार साँझ अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण रहेको पुष्टि भएपछि अस्पताल र स्वास्थ्य कार्यालयमा कार्यरत कर्मचारीहरू जुन ठाउँमा रहेका थिए त्यही ठाउँमा बस्दै आएका छन्।

परीक्षणका लागि प्रदेश प्रयोगशाला पोखरामा पठाइएका स्वाबको रिपोर्ट नआएका कारण आफ्नो परिवार र छिमेकीहरू नै खतरामा पर्न सक्ने भएकाले अस्पतालभित्रै बन्धकजस्तै भएर बस्नुपरेको उनीहरुको गुनासो छ। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाका अनुसार अस्पतालका स्वास्थ्यकर्मीमा कुन स्रोतबाट संक्रमण भएको हो भन्ने पुष्टि नभएका कारण अस्पताल र स्वास्थ्य कार्यालयमा कार्यरत कर्मचारी र स्वाथ्यकर्मीहरु बस्दै आएको कोठामा नगएर अस्पतालकै विभिन्न कक्षहरूमा म्याट ओछ्याएर भुईँमा नै सुतिरहेका छन्।

  ‘होटेल माउन्टेन भ्युको क्वारेनटाइनमा बसौँ भनेको भए त सम्भावना थियो। तर हाम्रा स्वास्थ्यकर्मीहरूमा भएको संक्रमणको माध्यम र स्रोत पत्ता नलागेका कारण जो जहाँ छ त्यहीँ बस्नुको विकल्प छैन,’ उनले भने, ‘झनै समस्या त समयमा रिपोर्ट नआउँदा भएको छ। इमर्जेन्सी केस हो भनेर रिपोर्टहरू पठाएको चार दिन हुँदा पनि नतिजा पठाएको छैन। अरू जिल्लाको आइरहेको छ।’  शनिवार बिहानदेखि अस्पतालको इमर्जेन्सीबाहेकका सबै सेवाहरू अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरिएको छ। तर संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका अस्पतालका अन्य स्वास्थ्यकर्मीको रिपोर्ट नआउँदा इमर्जेन्सीकै सेवा पनि सञ्चालन हुन सकेको छैन। संक्रमणको स्रोत पत्ता नलागेको अवस्थामा ठाउँ फेरेर बस्दा झनै जोखिम हुने भएकाले अस्पतालका भित्रका भुईँमा नै स्वास्थ्यकर्मीहरू सुत्ने गरेको डा. देवकोटाले बताए।

डा. देवकोटाका अनुसार दुईजना चिकित्सक, एकजना नर्स, एकजना ल्याब टेक्निसियन र एकजना कार्यालय सहयोगीमा संक्रमण देखिएपछि ६५ जना स्वास्थ्यकर्मीसँगै उनीहरूको सम्पर्कमा रहेकासहित गरेर कुल ८१ जनाको स्वाब पोखरास्थित प्रयोगशालामा पठाइएको थियो। तीमध्ये २६ जनाको मात्र रिपोर्ट आएको छ। जसमध्ये दुईजनाको पोजेटिभ र २४ जनाको नेगेटिभ आएको छ। ८१ जनाकै समूहबाट आएको नतिजामा पोजेटिभ पाइएपछि रिपोर्ट आउन बाँकी रहेका ५५ जना बसिरहेको ठाउँबाट हलचल गर्ने अवस्था छैन।  अहिले पर्वत अस्पतालभित्र बसिरहेका ४५, होटेल माउन्टेन भ्युको क्वारेनटाइनमा बसिरहेका पाँचजना सहित अन्यले पनि रिपोर्ट पर्खेर बसिरहेका छन्।

  जिल्लाकै सरकारी क्षेत्रको ठूलो अस्पतालको सेवा बन्द हुँदा बिरामीले सास्ती व्यहोर्नु परेको छ। समयमै रिपोर्ट नआएका कारण सबै सेवा ठप्प रहँदा पर्वतमा भएका घटनामा गरिने शवको पोस्टमार्टम तथा बन्दीहरूको स्वास्थ्य परीक्षणका लागि पनि छिमेकी जिल्ला बाग्लुङ र म्याग्दीसम्म जानु परेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले बताए।

प्रकाशित : २०७७ असार ८, सोमबार १०:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ