जनकपुर पेट्रोलियम डिलर्सका अध्यक्ष साहकै पम्प कारबाहीमा, यस्तो बदमासी !


काठमाडौं : पेट्रोलियम डिलर्स एसोसिएसन जनकपुरको अध्यक्ष बिष्णुदेव साहको पम्प बाबा आयल सेन्टरमा इन्धन आपूर्ती रोक्का गरिएको छ । तोकिएभन्दा बढी मुल्यमा पेट्रोल बिक्री गरेको आरोपमा आयल निगमले साहको पम्पमा इन्धन आपूर्ती  बन्द गरी छानबिन अघि बढाएको हो ।

आयल निगमले १६ असारमा पेट्रोलमा पाँच रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य दुई–दुई रुपैयाँ प्रतिलिटर वृद्धि गर्ने निर्णय गरेको थियो । सो निर्णय १६ असार राती १२ बजेपछि लागू हुने व्यवस्था थियो । मूल्य बढ्नुअघि जनकपुर क्षेत्रमा पेट्रोल ९४.५० रुपैयाँ प्रतिलिटर थियो । सोही मुल्यमा पेट्रोल लिन गएका टेम्पु चालकलाई पम्पका कर्मचारीले वृद्धि गरिएको मूल्य एक सय रुपैयाँ प्रतिलिटर (सो क्षेत्रमा ९९.५० रुपैयाँ प्रतिलिटर मूल्य तोकिए पनि पम्पहरूले एक सय रुपैयाँ लिन्थे । अहिले यो मूल्य पनि वृद्धि भइसकेको छ) का दरले असुलेको घटना बाहिरिएपछि निगमले इन्धन आपूर्ती रोक्का गरेर छानबिन अघि बढाएको हो ।

निगमको प्रवक्ता बिनितमणि उपाध्यायले ढिला गरी घटनाबारे जानकारी आएकाले शुक्रबारबाट पम्पलाई इन्धन आपूर्ती रोक्का गरिएको बताए । ‘जनकपुरको पम्पले बढी मुल्य असुलेको बिषयमा थाहा हुनासाथ आपूर्ती रोक्का गरेर कारबाही प्रक्रिया अघि बढाएका हौं’ उनले भने, ‘धनुषाको महेन्द्रनगरस्थित निगमको शाखा कार्यालयले पम्प सञ्चालकलाई शुक्रबार नै स्पष्टिकरण सोधेर प्रक्रिया अघि बढाइएको छ ।’

जनकपुर पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष साह यसअघि पनि कारबाही परिसकेका छन् । पछिल्लो पटक दुई बर्षअघि उनलाई इन्धन पर्याप्त भएर पनि बिक्री नगरी स्टक राखेको पुष्टि भएपछि प्रहरीले कारबाही गरेको थियो । ‘उपभोक्ताहरू साहको पम्पमा जाँदा तेल छैन भन्दै फर्काउने तर बढी मुल्य दिन तयार हुने सेटिङका मान्छेलाई जति पनि तेल दिने गरेको उजुरीका आधारमा प्रहरीले सो पम्पलाई दुई बर्षअघि कारबाही गरेको थियो’ स्रोतले भन्यो, ‘घटना बाहिर आएपछि निगमले पनि सो पम्पमा इन्धन आपुर्ति केही समय रोक्का गरेको थियो ।’

धनुषास्थित महेन्द्रनगरमा रहेको निगमको शाखा कार्यालयमा काम गरेका एक पूर्व प्रमुखका अनुसार जनकपुर क्षेत्रका पम्प व्यवसायीको बदमासी बारम्बार देखिने गरेको छ । ‘सो क्षेत्रमा डिलर्स एसोसिएसनमा आवद्ध सिमित व्यक्तिलाई मात्र धेरै तेल दिन निगमको शाखा कार्यालय प्रमुखलाई बारम्बार दबाब आउँछ’ ती पूर्व प्रमुखले भने, ‘जनकपुरमा सिमित व्यवसायीको सिण्डिकेट छ भन्दा फरक पर्दैन । उनीहरुलाई कारबाही गरेर सुधार गर्ने हो भने त्यस क्षेत्रका उपभोक्ताले ठूला राहत पाउँछन् ।’

डिलर्स एसोसिएसनका पदाधिकारीले नै जनकपुर क्षेत्रमा वितरण हुने इन्धनको परिमाणका बारेमा हस्तक्षेप गर्ने गरेका छन् । ‘पदाधिकारी आफैं आएर पम्पको पिडिओ बनाउन खोज्छन् । आफू र पदाधिकारीको पम्पलाई धेरै तेल र अन्यलाई थोरै तेल दिन कार्यालय प्रमुखलाई धम्की समेत दिन्छन्’ स्रोतले भन्यो । सधैंभरी सिमित व्यवसायीलाई मात्र धेरै तेल दिने यस्तो प्रस्ताव मान्न नसक्ने भएकाले आयल निगमको धनुषास्थित महेन्द्रनगरको शाखा प्रमुखहरु थोरै समय मात्र टिक्ने गर्छन ।

‘डिपो प्रमुखको कार्याकाल दुई बर्षको हुन्छ तर जनकपुरमा अहिलेसम्म दुई बर्ष डिपो चलाएर बिदा हुने कर्मचारी कोही छैन । व्यवसायीको दबाबमा परेर काम गर्न नसकी सबै कार्यालय प्रमुखहरू छोटो समयमै सरुवा माग्छन् या त व्यवसायीले सरुवा गराइहाल्छन्’ स्रोतले भन्यो । जनकपुरमा ३–४ महिनादेखि बढीमा एक बर्षभित्र कार्यालय प्रमुखहरू फेरबदल हुने गरेका छन् ।

जनकपुरकै शंकर आयलको समेत आपूर्ती बन्द गरिएको छ । निगमको अनुगमन टोलीले सो पम्पको पूर्वाधार (पम्प यार्ड पिच नगरको, अग्नी नियन्त्रण व्यवस्था नभएको, शौचालयको उचित व्यवस्था नभएकोलगायत) मा कमजोरी औंल्याएको थियो । पूर्वाधार सुधार नगरेसम्मका लागि इन्धन आपूर्ती रोक्का गरिएको प्रवक्ता उपाध्यायले बताए ।

– नयां पत्रिकाबाट

प्रकाशित : २०७७ श्रावण ४, आईतवार ११:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ