मिर्चैयामा वडा कार्यालयमै पसेर भाटाले आक्रमण, चार जना घाइते


जनकपुरधाम : सिरहाको मिर्चैया नगरपालिका-३ राघोपुरस्थित वडा कार्यालयमै आइतबार दिउसो एक समूहले आक्रमण गरेको छ ।

स्थानीय खगेश्‍वर गोहिवारको समूहले आक्रमण गर्दा त्यहीँ ठाउँका ४ जना घाइते भएका हुन् । घाइते हुनेमा किशोरकुमार यादव, भोला प्रसाद यादव, हेमकुमार यादव, श्रीप्रसाद यादव छन् । भाटाले प्रहार गर्दा उनीहरुको टाउको फुटेको छ ।

घाइते सबैलाई उपचारका लागि मिर्चैया बजारस्थित मंगलम हेल्थ केयर लगिएको छ । ‘१०/११ दिन अगाडि वडा कार्यालयमा खगेश्‍वरको समुहले ताला लगाएको थियो,’ घाइते किशोरले भने, ‘छलफल गरी खोल्न भनेपछि एक्कासि आक्रमण गरे ।’

आक्रमण गरेका खगेश्‍वर तत्कालीन राजपा पार्टीबाट वडा अध्यक्षमा चुनाव लडेका थिए । निर्वाचित वडाध्यक्ष हरिनारायण कुसियैतले अनियमितता गरेको भन्दै खगेश्‍वर समूहले वडा कार्यालयमा तालाबन्दी गरेको छ ।

वडाध्यक्ष कुसियैतले लकडाउनका कारण खर्च हुन नसकेको बजेटमा अनियमितता भएको भनेर रिसइबी साँध्‍न वडा कार्यालयमा तालाबन्दी गरेको दावी गरे ।

प्रकाशित : २०७७ श्रावण ४, आईतवार १८:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ