धनुषा : मेयर यादव अस्पताल भर्ना, कर्मचारीबाट कुटिएकै हो ?


जनकपुरधाम : कर्मचारीसँग विवाद भएपछि गणेशमान चारणाथ नगरपालिकाका मेयर रामबाबु यादव अचानक बेहोस भएर अस्पताल भर्ना भएका छन् ।

घटना आइतबार साँझको हो । कार्यालयमै कर्मचारी र मेयर यादवबीच भनाभन भयो । आवेगमा आएर मेयर यादव एक्कासि लडे । लगत्तै उनलाई सिरहाको फुलकुमारी महतो मेमोरियल अस्पताल लगेर उपचार गराइएको कर्मचारी स्रोतले जनाएको छ ।

सामाजिक सञ्‍जालमा मेयर यादव अस्पतालमा उपचार गराइरहेको तस्विर सार्वजनिक भएपछि घटना बाहिएको हो । खोजकेन्द्र फेसबुक पेजमा भनिएको छ, ‘गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु यादवलाई कार्यालयमै केही कर्मचारीले कुटपिट गरेकोले मेयर अस्पताल भर्ना । थप आउन बाँकी !’

यद्दपि कार्यालयमा भने कुटपिट जस्ता घटना नभएको बताइएको छ । धनुषाका एसपी रमेश बस्नेतले पनि कर्मचारीबाट मेयर यादव कुटिएको कुरामा सत्यता नरहेको बताए ।‌ उनले भने, ‘मेयरले मलाई फोन गरेरै त्यस्तो केही नभएको भन्नुभएको छ ।’

घटनाबारे बुझ्न मेयर यादवलाई फोन गर्दा रिसिभ भएन । उनका आफन्तका अनुसार कर्मचारीले कुटेर घाइते भई अस्पताल भर्ना भएको कुरा झुठो हो । कर्मचारीसँग भनाभन भएपछि ब्लड प्रेसर हाई भएर लडेपछि अस्पताल भर्ना भएको थियो ।

प्रकाशित : २०७७ श्रावण ५, सोमबार १८:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ