महोत्तरी : सर्पले टोकेपछि एक पुरुषको मृत्यु, झडपमा ७ घाइते


जनकपुरधाम : महोत्तरी जिल्लाको भंगहा नगरपालिका –५ मा विषालु सर्पको डसाइबाट एक पुरुषको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीयवासी ४५ वर्षीय शम्भु माझी सरदार रहेको छिमेकी आनन्द साहले जानकारी दिए । अपाङ्गता माझी गए राति आफ्नै घरमा सुतिरहेका बेला उनलाई विषालु सर्पले डसेको थियो ।

सर्पदंशित उनलाई आज बिहान उपचारका लागि सिरहा जिल्लाको बन्दीपुर स्थित सर्पदंश उपचार केन्द्रमा लगिएकामा उपचारकै क्रममा मृत्यु भएको छिमेकी साहको भनाइ छ ।

कुटाकुट हुँदा सात घाइते

सोनमा गाउँपालिका –३ रघुनाथपुर गाउँमा आज पानी निकासको विषयलाई लिएर दुई परिवारबीच कुटाकुट हुँदा सात जना घाइते भएका छन् ।

स्थानीय सुजित यादव र चतुरी यादवका परिवारबीच पानी निकासको विषयलाई लिएर झैझगडा र कुटाकुट हुँदा तीन महिलासहित घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

घाइते हुनेमा चतुरी यादवका छोरा रुपेश, भाइबुहारी वर्षा र आमा तथा  सुजित यादव, उनकी पत्नी किरणदेवी, छोराहरु रविशंकर यादव र हरिशंकर यादव रहेको प्रहरी उपरीक्षक विष्टले बताए ।

हात, मुक्का र भाटाले कुटाकुट गरेका उनीहरु घाइते भई जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ श्रावण ७, बुधबार १४:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ