बारामा पनि कोरोना संक्रमणबाट एक युवतीको मृत्यु


पर्सा : कोरोना भाइरस संक्रमणबाट बारामा एक युवतीको मृत्यु भएको छ । शुक्रबार साँझ मृत्यु भएकी परवानीपुर गाउँपालिका–४ की १७ वर्षीया शवनम खातुनको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै उनको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको हो ।

उनको मृत्युअघि नै थ्रोट स्वाब संकलन गरिएको थियो । स्वाबको रिपोर्ट पोजेटिभ आएको वीरगञ्जस्थित नारायणी अस्पतालको अस्थायी विशेष कोभिड अस्पताल गण्डकका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए । विशेष कोभिड अस्पताल गण्डकमा बिहीबार भर्ना भएकी ती युवतीको शुक्रबार साँझ मृत्यु भएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत बुधबार वीरगन्जको नारायणी अस्पताल र पछि थप उपचारका लागि वीरगन्ज कै हेल्थ केयर हस्पिटलमा भर्ना गरिएको थियो । हेल्थ केयर हस्पिटलमा आरडीटी परीक्षण गर्दा पोजेटिभ आएपछि स्वाब संकलन गरी नारायणी प्रयोगशालामा पठाइएको र बिरामीलाई कोभिड अस्पताल गण्डकमा पठाइएको हेल्थ केयर हस्पिटलका डा. अवुलेश अन्सारीले बताए ।

अस्पतालमा भर्ना गर्दा शवनमलाई डाइरिया, श्वासप्रस्वास र चक्कर लाग्ने लक्षणहरु देखिएका थिए । छातीको एक्सरे पनि राम्रो नदेखिएको चिकित्सकले बताएको छ । स्वास्थ्य अवस्था विग्रदै जाँदा स्वाब परीक्षणको रिपोर्ट नआई नै उनको मृत्यु भएको कोभिड अस्पताल गण्डकले जनाएको छ ।

कोभिड अस्पताल गण्डकमा शुक्रबार नै वीरगन्ज महानगरपालिका–११ रानीघाटकी ८५ वर्षीया तप्सिया देवीको पनि कोरोनाका कारण मृत्यु भएको थियो । शुक्रबार साँझ मृत्यु भएकी युवतीसहित मुलुकभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले भने यो पुष्टि गर्न बाँकी रहेको नारायणी अस्पतालले जनाएको छ ।

प्रकाशित : २०७७ श्रावण १०, शनिबार ०८:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ