जनकपुरमा पत्रकार कुटपिट प्रकरण : गृहमन्त्रीको तस्विर जलाएपछि दुई युवकलाई प्रहरीले समात्यो


जनकपुरधाम : गृहमन्त्री रामबहादुर थापाको तस्विर जलाएको भन्दै दुई युवकलाई प्रहरीले जनकपुरको भानु चोकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजेश यादब र सुनिल साह छन् ।

धनुषाका थाहाखबरकर्मी तथा टुडेखोज डटकमका सम्पादक सन्तोष यादब र पत्रकार सिबेन्द्र रोहितालाई कुटपिट गर्ने दोषी प्रहरीमाथि कारबाही गर्न आलटाल गरेको भन्दै जनकपुरको भानु चौकमै युवाहरुले प्रशासनविरुद्ध नाराबाजी गर्दै गृहमन्त्री थापाको तस्विर जलाएका थिए । सोही क्रममा युवाद्धय यादब र साहलाई प्रहरीले समातेर जिल्ला प्रहरी कार्यालय लगेको युवा रुपेश यादबले जानकारी दिए ।

उनी दुबै जनालाई अबिलम्ब रिहा गर्न युवाहरुले माग गरेका छन् । प्रहरीबाट गुण्डागर्दी गर्न लगाउने र शान्तिपुर्ण तरिकाले सामाजिक दुरी कायम गरेर आन्दोलन गर्दा प्रहरीले दमनमा उत्रेको उनीहरुको आरोप छ ।

जनकपुरस्थित नव जीवन अस्पतालको लापरबाहीले विहिवार राति मृत्यू भएकी महिलाको शव शुक्रवार राति प्रहरीले बल प्रयोग गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लगेको थियो । सोही बेलाको तस्विर खिच्न लाग्दा थाहाखबरकर्मी सन्तोष यादब र टुडेखोज डटकमका पत्रकार सिबेन्द्र रोहितालाई प्रहरीले घेरा हालेर निमर्मतापूर्वक कुटपिट गरेको थियो ।

प्रकाशित : २०७७ श्रावण ३२, आईतवार १९:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ