कोरोना कहर : सिराहामा २ सय १० आइसोलेसन बेड थप्ने तयारी


सिरहा : संकट व्यवस्थापन केन्द्र सिराहाले स्थानीय तहसँगको समन्वयमा पाँच ठाउँमा दुई सय १० बेडको आइसोलेसन सञ्चालन गर्ने भएको छ ।

सिराहाका प्रमुख जिल्ला अधिकारी तथा केन्द्रका संयोजक प्रदीपराज कँडेलका अनुसार शनिबार जिल्लाको सिराहा, मिर्चैया, चोहर्वा, गोलजार र लहानमा आइसोलेसन सञ्चालन गर्ने गरी स्थानीय तहका प्रमुखहरूसँग स्थलगत अनुगमनसँगै छलफल गरिएको छ ।

‘कोरोना संक्रमितका लागि जिल्लाको सिराहा सदरमुकाम र धनगढीमाईको छपराढीमा सञ्चालित आइसोलेसनको क्षमताले नभ्याउने देखियो,’ कँडेलले भने, ‘तत्काल आइसोलेसनको व्यवस्थापन गरी सञ्चालन नगरे स्थिति भयावह हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै बेड थप गर्न लागिएको हो ।’

मिर्चैयास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ३०, गोलबजार– ९ स्थित माविमा ३०, लहानमा ५०, चोहर्वा रेडक्रस भवनमा एक सय बेडको आइसोलेसन तत्काल सञ्चालन गर्ने गरी काम भइरहेको कँडेलले बताए ।

‘आइसोलेसन सञ्चालनपूर्वको सरसफाइ, खानेपानी, बिजुली, शौचालयसहितको व्यवस्थापन स्थानीय तहले गर्नेछन्,’ उनले भने, ‘जिल्ला सदरमुकाम सिराहास्थित सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसको खाली रहेको छात्रावास भवनमा पनि आइसोलेसन सञ्चालन गर्नेगरी तयारी हुँदै छ ।’

कोरोना परीक्षणको दर र दायरा बढाएपछि संक्रमितको संख्या बढेको उल्लेख गर्दै उनले  नियन्त्रण र रोकथामका गर्न विद्यमान जटिल परिस्थितिलाई सबैले मनन गरी आ–आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए ।

प्रकाशित : २०७७ भाद्र ७, आईतवार ०६:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ