विद्युतीय रेलमार्गको इनरुवा–बर्दिवास खण्डको निर्माणमा रुसले लगानी गर्ने


काठमाडौं : पूर्वपश्चिम विद्युतीय रेलमार्गको लागि रुसले सहयोग गर्ने भएको छ । रुसले विद्युतीय रेलमार्गको इनरुवा–बर्दिवास खण्डको निर्माणमा लगानीसहित सहकार्य गर्नेबारे भएको हो ।

त्यसको लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकोभबीच मंगलबार छलफल भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री नेम्वाङ र राजदूत नोभिकोभ पूर्वपश्चिम विद्युतीय रेलमार्गबारे छलफल भएको मन्त्रालयले जनाएको छ । रुसले काठमाडौंको मेट्रो प्रोजेक्टमा सहकार्य को लागि तत्परता देखाएको छ । ७२ किलोमिटर लम्बाईको सङ्घीय राजधानी काडमाडौंको मेट्रो प्रोजेक्टमा समेत रुसी सहकार्य सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रतिनिधिले मेट्रो प्रोजेक्टको ५ खण्ड मध्ये कुनै पनि खण्डमा रुसी प्रविधि र लगानीसहित सहभागी हुन प्रस्ताव गरेको थियो । प्रस्तावमा राजदूत नोभिकोभले नेपालको विकासमा सहकार्य गर्न आफू उत्साहित रहेको र रसियन सरकारसँग पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

मन्त्री नेम्वाङले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप रुसले तयार गर्दै गरेकोमा बधाई दिनुका साथै पूर्ण सफलताको कामना गर्दै त्यसबाट विश्व मानव जातिलाई बचाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको छ ।

भेटमा द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको छ । रुसी सहयोगमा निर्माण भएका विगतका परियोजना कान्ति अस्पताल, पनौती हाइड्रोइलेट्रिक स्टेशन, पूर्वपश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्ड, जनकपुर सिगरेट उद्योग, कृषि औजार कारखाना, वीरगञ्ज सुगर मिल र रोजिन एण्ड टर्पाइन प्लाण्टबारे समेत छलफल भएको छ ।

प्रकाशित : २०७७ भाद्र १०, बुधबार १०:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ