सशस्त्र प्रहरीले चलाएको गोली लागेर आलमको मृत्यू, दुई जना पक्राउ


झापा : सशस्त्र प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक युवकको मृत्यू भएको छ । मृत्यू हुनेमा झापा गाउँपालिका ३ का ३८ वर्षीय रफिक आलम छन् ।

गोली लागेर गम्भीर घाइते उनको उपचारको क्रममा बिएन्डसी अस्पतालमा मृत्यु भएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिए । स्थानीयले गोरु काटेको विषयमा विवाद भएपछि झापा गाँउपालिका ३ कामाटोली पुगेको सशस्त्र प्रहरीले गोली चलाएको थियो ।

स्थानीयले सशस्त्रमाथि आक्रमण गरेपछि गोली चलेको जनाइएको छ । गोरु काटेको निहुँमा प्रहरीले दिउँसो दुई जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा लैजान खोजेपछि स्थानीय आक्रमणमा उत्रिएका थिए ।

सशस्त्र प्रहरी निरीक्षक सचिन प्रधानको कमाण्डमा गएको सशस्त्र प्रहरी टोलीले आठ राउन्ड गोली चलाएको थियो । प्रहरीले भने आलमको मृत्युबारे आधिकारिक जानकारी दिएको छैन ।

गोरु काट्ने व्यक्तिलाई पक्राउ गरी लैजान खोज्ने प्रहरीलाई अवरोध गर्न खोज्दा झापा गाउँपालिकामा केहीबेर झडप भएको प्रहरीले जनाएको छ ।

कामाटोली बजारमा गोरु काट्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा झापा गाउँपालिका ३ का अब्दुल सलाम र ताजमल हक रहेका छन् ।

दिउँसो ताजमल हकको घरमा गोरु काट्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बेस क्याम्प टाघनडुब्बाबाट गएको संयुक्त टोलीले मासुसहित ती दुवैलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुलाई लैजान नदिन स्थानीयको ठूलो भीडले प्रहरीलाई अवरोध गरेको थियो । त्यसक्रममा झडप भएको झापा प्रहरीले जनाएको छ ।

गोरु काट्नेहरुलाई लैजान खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए । उनले त्यसक्रममा केही राउण्ड हवाई फायर भएको जनाए ।

प्रकाशित : २०७७ भाद्र १०, बुधबार २१:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ