प्रदेश २ : आगो लगाएर श्रीमतीको हत्या गर्न खोज्ने युवक जेल चलान


सप्तरी : श्रीमतीलाई मट्टितेल खन्याई आगो लगाएर हत्या गर्न खोज्ने एक युवकलाई आज अदालतले पुर्पक्षका लागि कारागार पठाइएको गरेको छ ।

जिल्ला अदालतको आदेशमा आरोपित सुरुङ्गा नगरपालिका १ लक्ष्मीपुरका २५ वर्षीय दिपेन भनिने दिपेन्द्र सदालाई पुर्पक्षका लागि राजविराज कारागार पठाइएको छ । श्रीमानलाई अदालतले कारागार पठाएकै बेला घरमा मृत्यु पर्खेर बसेकी घाइते २१ वर्षीया बसन्तीदेवी सदालाई समग्र जनउत्थान केन्द्रका मनोविमर्शकर्ता रेणु कर्ण र कविता चौधरीले उद्धार गरी अस्पताल भर्ना गराएका छन् ।

गत साउन ७ गते बिहानै मदिरा खाएर मातिएका दिपेनले कुटपिट गरी शरीरमा मट्टितेल खन्याई आगो लगाएर घाइते बनेकी पीडित खर्च अभावमा घरमै बसेकी थिइन् । आरोपित श्रीमान भने घटना लगत्तै पक्राउ परेका थिए ।

आगो लगाएको घटना थाहा पाएर छिमेकीले आगो निभाए पनि बसन्तीको छातिदेखि तलको अधिकांश भाग जलेको रामकुमार शारदा उमाप्रसाद मुरारका लहान अस्पतालका डाक्टर सुनिल कुशवाहाले जानकारी दिए । घाइतेका बुवाले तत्कालै इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएपछि आरोपित पक्राउ परेका हुन् । घरदेखि पीडितको माइत दुई किलोमिटरको दुरीमा छ ।

आगो लगाएर ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गरेको प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला अदालतमा पेश गरेकामा आज पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केशरीले बताए ।

केन्द्रले लहानमै उपचार सम्भव ठानेर उद्धार गरी लहान अस्पताल भर्ना गरे पनि उपचारमा संलग्न डा रोहित साहले शरिरको ५५ देखि ६० प्रतिशत भाग जलेका कारण विशेष उपचार आवश्यक हुँदा काठमाडौं लैजानुपर्ने बताएका छन् ।

प्रकाशित : २०७७ भाद्र ११, बिहीबार २२:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ