रौतहटको ‘राम’ र मोरङको ‘यादब’को शङ्कास्पद मृत्यूको अनुसन्धान गर्न कांग्रेसको माग


काठमाण्डौ : नेपाली कांग्रेसले रौतहट र मोरङमा बिहीबार दुई युवाको शङ्कास्पद रुपमा भएको मृत्युको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्ति निकाल्दै कांग्रेसले रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा केही दिनदेखि हिरासतमा रहेका १९ वर्षीय विजयराम चमार परिवारका सदस्यले दिएको जानकारीअनुसार स्वस्थ र हट्टाकट्टा भएको तर आज अकस्मात वीरगञ्जको एक अस्पतालमा उनको निधन भएको खबरले परिवारजन र स्थानीयवासी आक्रोशित हुनु स्वभाविक भएको उल्लेख गरेको छ ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले रहस्यमय रुपमा भएको उनको मृत्युबारे गहिरो अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याउन सरकारसँग माग गर्नुभएको छ ।

यस्तै मोरङको कारागारमा रहेका २६ वर्षीय युवा निराजन यादवको अपराह्न कोशी अस्पताल पुर्‍याएलगत्तै भएको मृत्युबारे पनि घटनाको सत्यरतथ्य अनुसन्धान गर्न माग गरेको छ ।

प्रवक्ता शर्माले धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको प्रहरी हिरासतमा गएको जेठ २७ गते मृत्यु भएको घटनाको साढे दुई महिना पुग्दै गर्दा उस्तै प्रकृतिका घटना दोहोरिनु अत्यन्तै दुःखद भएको बताउनुभएको छ ।

यसैगरी कांग्रेसले रौतहट माधवनारायण नगरपालिकाको एक मन्दिरका पूजारी राम साहको हत्याको दोषी फेला नपर्नुप्रति पनि सरकारको विशेष ध्यानाकर्षण गराएको छ ।

प्रकाशित : २०७७ भाद्र १२, शुक्रबार ०९:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ