बालकलाई सर्पले टोकेपछि अस्पताल जाँदैगर्दा मोटरसाइकल दुर्घटना, दुबैको ज्यान गयो


बाँके : बाँकेमा रोकिरहेको ट्रकमा ठोक्किएर मोटसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

आइतबार बिहान पौने ५ बजे राप्तिसोनारी गाउँपालिका ८ शमसेरगञ्जस्थित चेकपोष्टमा ना ४ ख २१३९ नम्बरको ट्रक चेकिङको लागि रोकिएको थियो । त्यहीबेला पूर्वबाट पश्चिम जाँदै गरेको भे ८ प २२३८ नम्बरको मोटरसाइकल उक्त ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास खड्काका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् । मोटरसाइकल चालक सोही गाउँपालिका १ कुसुम घर भएका ३२ वर्षीय चेवन देवकोटाको उपचारका लागि अस्पताल लाँदै गर्दा मृत्यु भएको हो ।

त्यस्तै मोटरसाइकलमा सवार तीन वर्षीय लिला बहादुर खड्काको उपचारका क्रममा आइतबार बिहान साढे १० बजे भेरी अञ्चल अस्पतालमा मृत्यु भएको डिएसपी खड्काले बताए ।

‘सर्पले टोकेको बिरामी बच्चाको उपचारका लागि आमा र चेवनले अस्पताल लाँदै थिए । त्यही बेला उनीहरू दुर्घटनामा परे, ‘डिएसपी खड्काले भने, ‘सर्पले टोकेको बच्चाको पनि उपचारको क्रममा मृत्यु भएको छ ।’

उनका अनुसार घाइते भएका कौशिला खड्का ती बालकका आमा हुन् । उनको अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको डिएसपी खड्काले बताए ।

प्रकाशित : २०७७ भाद्र १४, आईतवार १४:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ