सरकारको नीतिगत निर्णय : अब कुनैपनि बैंकमा ATM प्रयोग गर्दा शुल्क नलाग्ने


टुडेखोज/ काठमाडौं : एक बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएम बुथमा प्रयोग गर्दा शुल्क नलाग्ने नीतिगत निर्णय सरकारले गरेको छ ।

बैंकहरुले एक बैंकको कार्ड अर्को बैंकको एटिएम बुथमा प्रयोग गर्दा शुल्क लिने गर्दथ्यो । केहीले भने आन्तरिक समझदारीमा निःशुल्क सेवा दिन्थ्यो । कोरोनाको समयमा गरिएको लकडाउनमा भने बैंकहरुले सहुलियत दिए । तर पछिल्लो समय पुनः पुरानै नियम लागु गरेका थिए ।

तर सरकारले नै नीतिगत रुपमै जुनसुकै बैंकको कार्ड जुनसुकै एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको हो । राष्ट्र बैंकले विद्युतीय भुक्तानी कार्ड सञ्चालनबारे नीति नै बनाएर अन्तर एटिएम कारोबारमा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

विद्युतीय भुक्तानी कार्ड जारी गर्दा अपनाउनुपर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्था सम्बन्धी ‘ङ’ बुँदामा ‘एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क लिन पाइने छैन’ भनिएको छ ।

कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अगावै सोको सूचना ग्राहकलाई एसएमएसमार्फत दिनुपर्ने र कार्ड नवीकरण शुल्कको बारेमा समेत जानकारी गराउनुपर्ने व्यवस्था पनि गरिएको छ ।

प्रकाशित : २०७७ भाद्र १५, सोमबार १०:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ