जनकपुर : अल्ट्रासाउण्डको रिपोर्ट गलत दिनेमाथि कारबाही गर्न आनाकानी (प्रमाणसहित)


किसन साह/ जनकपुरधाम : गलत रिपोर्ट दिने जनकपुरधाम उपमहानगरपालिका ४ स्थित स्वस्तिका डाइग्नोष्टिक अल्ट्रासाउण्ड एण्ड इमेजिङ्ग सेन्टरलाई प्रशासनले कारबाही गर्न ढिलाइ गरेको छ ।
असार ४ मा अल्ट्रासाण्ड रिपोर्ट गलत दिएको भन्दै जनकपुरधाम उपमहानगरपालिका ९ का प्रदिप मुखियाले जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी दिएका थिए । तर हालसम्म उक्त सेन्टरमाथि छानविन समेत अगाडी बढाएको छैन ।

डा. शम्भु साहले स्वस्तिका डाइग्नोष्टिक अल्ट्रासाउण्ड एण्ड इमेजिङ्ग सेन्टर संचालन गरेको छ । सेन्टरलाई विपक्षी बनाएर प्रशासनमा प्रदिप मुखियाले दिएको उजुरीमा भनिएको छ, ‘गलत रिपोर्ट दिएका कारण आमाको ज्यान जाने खतरा थियो । त्यसैले विपक्षीलाई हदैसम्मको सजाय गरी क्षतिपुर्ती दिलाइ भराइ पाऊँ ।’

गलत रिपोर्ट दिने डाक्टर र सेन्टरमाथि प्रशासनले कारबाही गर्न छानविन समेत नगर्दा रकमको बार्गेनिङ भएको हुनसक्ने पीडितले आरोप लगाएका छन् । उनले टुडेखोजसँग भने, ‘आज मलाई गलत रिपोर्ट दियो । भोली अरुको दिन्छ । त्यसैले डाक्टरमाथि कारबाही गर्न प्रशासनसँग मेरो अनुरोध छ । तपाईहरुले पहल गरिदिनुपर्यो ।’

मुखिया भन्छन् –

आमा सुमिन्त्राको पेट दुखेपछि उपचारका लागि प्रादेशिक अस्पताल पुगेको थिए । त्यहाँका डाक्टरले अल्ट्रासाउण्ड गराएर ल्याउन भन्यो । म त्यो सेन्टरमा गएर अल्ट्रासाण्ड गराए । आधा घण्टामा रिपोर्ट दियो । रिपोर्टमा फ्याट बढेको उल्लेख छ । उक्त रिपोर्ट लिएर डाक्टर कहाँ पुगेपछि औषधी दियो । आमालाई लिएर घर फर्के । घरमा औषधी खाएपछि पुनः पेट दुख्न थाल्यो । त्यसपछि पुनः अस्पताल गए ।

अस्पताल पुगेपछि डाक्टरले पुनः अल्ट्रासाण्ड गराउन भन्यो । त्यहाँ गएर फेरी अल्ट्रासाउण्ड गराउँदा फरक रिपोर्ट दियो । दोस्रो पटकको रिपोर्ट भने हर्निया भएको रिपोर्ट दिएपछि आश्चर्य लाग्यो । अनी कुन रिपोर्ट सही, कुन गलत छुट्याउनै सकिनँ । सेन्टरमा मसँग विवाद पनि भयो । डाक्टर कहाँ दोस्रो रिपोर्ट लिएर गएपछि पुनः औषधी दिएपछि आमाको आराम भयो । मसँग गलत रिपोर्ट दिएको सबै प्रमाण छ । तर प्रशासनले डाक्टर र सेन्टरलाई कारबाही नगर्दा दुःख लागेको छ ।

प्रकाशित : २०७७ भाद्र १५, सोमबार १५:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ