जनकपुरमा युवाहरुले किन जलाए मन्त्री जितेन्द्र सोनलको पुतला ?


टुडेखोज/ जनकपुरधाम : जनकपुरधाममा सोमवार प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको पुतला दहन गरिएको छ ।

राष्ट्रिय एकता अभियानका युवाहरुले मन्त्री सोनलको पुतला दहन गरेका हुन् । सरकारले उपभोक्ता समितिमार्फत सञ्चालित योजनाको करोडौं बजेट भुक्तानी गर्न आनकानी गरकोले मन्त्री सोनलको पुतला जलाएको युवाहरुले बताएका छन् ।

जानकी मन्दिरको अगाडी मन्त्री सोनलविरुद्ध युवाहरुले नाराबाजी समेत गरे । उनीहरुले ‘मन्त्री सोनल राजीनामा दे’ नारा लगाए । लगत्तै मन्त्री सोनलको पुतला (तस्विर) जलाएका थिए । युवाहरुले गरेको पुतला दहन र प्रदर्शनबारे प्रशासनलाई सूचना प्राप्त भएको थिएन् ।

प्रदेश २ सरकारले आर्थिक वर्ष २०७५/०७६ मा उपभोक्ता समितिमार्फत भएको ८ सय ४२ योजनाको ८६ करोड रुपैयाँ उपभोक्तालाई भुक्तानी दिएका छैनन । उपभोक्ताहरुले भुक्तानी नपाउनुमा मन्त्री सोनल मुख्य दोषी रहेको युवाहरुको आरोप छ ।

मन्त्री सोनलको पुतला दहन तथा प्रदर्शन अभियानका राष्ट्रिय संयोजक विनय यादवको नेतृत्वमा गरिएको छ । प्रदेश २ लाई असफल बनाई संघीय प्रणालीलाई नै सिध्याउने खेलमा सोनल लागेकोले उनी विरुद्ध सडकमा आएको अभियानकी उपाध्यक्ष सुनिता साहले बताएकी छन् ।

प्रकाशित : २०७७ भाद्र १५, सोमबार १९:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ