कोरोनाबाट वीरगन्जको नारायणी अस्पतालमा थप तीन जनाको ज्यान गयो


टुडेखोज/ वीरगन्ज : पर्सामा पछिल्लो पटक कोराना संक्रमणबाट तीन जनाको ज्यान गएको छ । वीरगन्ज महानगरपालिका २० हरपतगञ्जका ५३ वर्षीय पुरुष र पहिचान खुल्न नसकेका अन्दाजी ६० बर्षीय पुरुषको ज्यान गएको हो । अर्को मृतक ६० वर्षीय पुरुष बाराको रहेको बताइएको छ ।

नारायणी अस्पतालका सूचना अधिकारी डा. अतुलेश कुमार चौरसियाका अनुसार ५३ वर्षीय पुरुषमा ३१ साउनमा संक्रमण पुष्टि भएको थियो । नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरमा राखेर उपचार भइरहेको थियो । गएराति १२ बजेर ४५ मिनेटमा उनको ज्यान गएको छ ।

यस्तै पहिचान खुल्न नसकेको पुरुषको भने वीरगन्जस्थित नारायणी अस्पतालको इमर्जेन्सी कक्षमा सोमवारराति ८ बजेर ४५ मिनेटमा ज्यान गएको छ । बेवारिस अवस्थाका उनलाई पनि शनिबार अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी जिन एक्सपर्ट प्रविधिबाट कोरोना परीक्षण गरिएको थियो । ती व्यक्तिको पनि परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो– नारायणी अस्पताका सूचना अधिकारी डा. चौरसियाले भने ।

यस्तै वीरगञ्जको नारायणी अस्पतालकै अस्थायी कोभिड अस्पताल गण्डकमा उपचाररत बाराका ६० वर्षीय पुरुषको आज विहान ४ बजेर ५० मिनेटमा ज्यान गएको छ ।

अस्पतालका प्रवक्ता डा. चौरसियाका अनुसार उनको आइसीयू कक्षमा उपचार भइरहेको थियो । मधुमेहका बिरामी समेत रहेका उनलाई भदौं १० गते अस्पताल ल्याएको थियो । भदौं ११ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आएपछि अस्थायी कोभिड अस्पतालमा भर्ना गरेर उपचार भइरहेको थियो ।

प्रकाशित : २०७७ भाद्र १६, मंगलवार ०९:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ