जसपामा मिलेन भागबण्डाको लफडा, जम्बो संरचना बनाउने तयारी


काठमाडौं : तत्कालीन समाजवादी र राष्ट्रिय जनता पार्टी एकीकरण भई संसदको तेस्रो ठूलो दल बनेको जनता समाजवादी पार्टीले जम्बो संरचना बनाउने भएको छ ।

नेता व्यवस्थापनका लागि १६ जना उपाध्यक्ष बनाउने सहमति गरेको जसपामा संघीय परिषददेखि कार्यकारी समितिसम्म २ हजार ५८ पद सृजना गरिएका छन् । तर, भागबण्डा मिलाउन नसक्दा पदाधिकारी चयन अझै गर्न सकेको छैन ।

समाजवादी र राष्ट्रिय जनता पार्टी एकीकरण भई बनेको जनता समाजवादी पार्टीमा अहिले २ अध्यक्ष र ५ सदस्यीय कार्यकारिणी समितिले पार्टीका निर्णय गर्दै आएको छ । पार्टी एकीकरणपछि नेतृत्व व्यवस्थापनको सकस खेपिरहेको जसपाले अब भने नेता कार्यकर्ता व्यवस्थापनका लागि जम्बो संरचनामा जाने भएको छ ।

जसपाले पार्टीको सबैभन्दा शक्तिशाली संरचना संघीय परिषद्मा १ हजार १ सय १ सदस्य तय गरेको छ भने केन्द्रीय समितिमा ७ सय १ सदस्य रहने भएका छन् । पार्टीले संघीय परिषद्को अध्यक्षमा बाबुराम भट्टराईलाई बनाउने भनिए पनि औपचारिक निर्णय गरिएको छैन ।

केन्द्रीय अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवको नाममा सहमति जुटाए पनि अन्य पदाधिकारी, संघीय परिषद, राजनीतिक र कार्यकारी समितिमा रहने सदस्य टुंगो लगाएको छैन । नेता व्यवस्थापनको समस्यामा फसेको जसपाले वरिष्ठ नेता मात्र ८ जना बनाउने भएको छ ।

त्यसैगरी, सहअध्यक्ष ४, उपाध्यक्ष १६ जना हुनेछन् । महासचिव र उपमहासचिव ६(६ जना हुनेछन् भने सचिव ८, कोषाध्यक्ष र सहकोषाध्यक्ष १र१ जना बनाउने समहति भएको छ । नेताको व्यवस्थापनकै लागि राजनीतिक समितिमा १ सय ५१ र कार्यकारी समिति ५३ सदस्यीय बनाइने भएको छ ।

पदाधिकारीदेखि केन्द्रीय समितिमा समेत दुवै पार्टीका तर्फबाट बराबर प्रतिनिधित्व हुने गरी संख्या तोकिए पनि कसलाई जिम्मेवारी दिने भन्ने विषय अहिले जसपामा चुनौतीपूर्ण छ ।

अबको एक साताभित्र केन्द्रीय समिति विस्तार र पदाधिकारीको कार्यविभाजन गर्ने तयारी गरेको जसपाले संघीय परिषददेखि कार्यककारी समितिसम्म २ हजार ५८ पद सृजना गरेको छ । जसपाको यो पार्टी संरचना सत्ताधारी दल नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसको भन्दा पनि ठूलो हो ।

जसपाले दल दर्ता प्रयोजनका लागि बनाइएको समिति विस्तार गरी नेताहरूको कार्यविभाजन गर्न लागेको हो । एकतापूर्व समाजवादीमा उपेन्द्र यादव र बाबुराम भट्टराई गरी दुई अध्यक्ष थिए भने राष्ट्रिय जनता पार्टीमा महन्थ ठाकुरसहित ६ जना अध्यक्ष थिए ।

एकीकरणपछि जसपाले पदाधिकारी र समितिमा रहने सदस्यको संख्या टुंगो लगाए पनि व्यक्ति टुंग्याउन सकेको छैन । संसदीय दलको नेता छनोटमा पनि तानानान भइरहेको छ ।

प्रकाशित : २०७७ भाद्र १६, मंगलवार १९:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ