व्यापारीलाई फोनमा धम्काउँदै रकम असुल्ने गिरोहका ५ जना पक्राउ


टुडेखोज/ विराटनगर : व्यापारीहरुलाई फोनबाट धम्काउँदै रकम माग्ने समूहका पाँच जनालाई मोरङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

कटहरी गाँउपालिका २ आर्दश टोलका २८ वर्षीय रविन शर्मा, सोही ठाउँका २६ वर्षीय किसन साह, २७ वर्षीय अभिषेक साह, सप्तरी बोदेबसाईन ८ का २७ वर्षीय नन्दकिशोर साह र विराटनगर ८ मा भाडामा बस्दै आएका २७ वर्षीय राजु साह पक्राउ परेका हुन् । प्रहरीले बुधवार उनीहरुलाई सार्वजनिक गरेको छ ।

मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्का अनुसार पक्राउ परेकाहरुले फोन गरी व्यापारीसँग रकम माग्ने र रकम नदिए ज्यान मार्नेसम्मको धम्की दिँदै आएका थिए । असार २५ गते पक्राउ परेकाहरुकै समूहले विराटनगरका एक व्यापारीलाई मोबाइलबाट म्यासेज गरी १० लाख रुपैयाँको मागेका थिए ।

धम्कीपूर्ण म्यासेजसँगै उनीहरुले २६ गते व्यापारीबाट ५ लाख रुपैयाँ हत्याउन सफल भएको थियो । भदौ १५ गते त्यही समूहले विराटनगरस्थित चाइना बजारका सञ्चालक रामनरेश साहको घरबाट ११ लाख रुपैयाँ लुटेको प्रहरीको दावी छ ।

पक्राउ परेकाहरुको समूहले दर्जनौं व्यापारीलाई धम्की दिएर रकम असुलेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरु लुटपाट समेत गर्दै आएका थिए । लुटेको १६ थान मोवाइल ति समूहबाट प्रहरीले बरामद गरेको छ । यस्तै उनीहरुको डेरामा छापा मारेर प्रहरीले नगद रुपैया समेत बरामद गरेको बताइएको छ ।

पक्राउ गरिएका अभियुक्तहरुलाई हातहतियार खरखजना, अपराधिक लाभ, चोरी तथा संगठित अपराधमा अनुसन्धान तथा कारवाही अगाडी बढाएको मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

प्रकाशित : २०७७ भाद्र १७, बुधबार १४:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ