‘अब त म काठमाडौं आउँदिनँ, राज्यले नै लुट्यो, हाम्रो त देशै छैन’


काठमाडौं : देशको राजधानी काठमाडौंको मुटु हो टुँडिखेल । देशको यो मुटुमा अहिले धेरै नागरिक आफ्नो ‘मुटु जोगाउन’ भेला हुन्छन् । कोरोना कहरभन्दा बढी भोको कहरले थलिएको भिड यहाँ देखिन्छ ।

बिहीबार त्यहाँ एक जना यस्तै व्यक्ति भेटिए, सुवास राई ।

खुलामञ्चमा अचेल केही सहयोगी व्यक्ति र समूहले खाना खुवाइरहेका छन् । सुवास पनि त्यही साँझको खाना खान कुरिरहेका थिए । करिब छ महिनादेखि उनको दिउँसो-साँझ यहीँ बितेको छ, एक छाक खान ।

तर बिहानको भोक त मरेकै छैन उनको, साँझ नपर्दै अनुहार अँध्यारो भइसक्यो ।

वीर अस्पतालको इमर्जेन्सी गेटको ठ्याक्कै अगाडि नाङ्ला पसलमा उनले चाउचाउ किने। ५० रुपैयाँको नोट दिए, २० रूपैयाँ फिर्ता आयो । आसपास अरू पसल खुला छैनन् । नाङ्लामा चाउचाउ र बिस्कुटका पोका छन् । त्यसैले होला उनले १० रुपैयाँ बढी तिरेरै किने ।

काठमाडौं महानगरपालिकाले भ्युटावर बनाउन भनेर पूरानो बसपार्क सारेपछि बनेको अस्थायी बसपार्कको गेटैमा बसेर उनले चाउचाउको प्याकेट फोरे । चाउचाउमा भएको मसला र खुसार्नी हाले । ढुंगेधाराबाट मिनिरल वाटरको बोतलमा भरेको पानी झोलाबाट निकाले । प्याकेटमा खलल हाले, फिटे अनि चाउचाउ-पानी घुटुघुटु पिए ।

‘बिहान भात खान पाएको छैन । यसैगरी धानिएको छु,’ उनले भने ।

चाउचाउ पिएपछि झोलाबाट खत्र्याकखुत्रुक पार्दै औषधिका केही गोटी झिके। पानीले स्वाट्ट एक गोली निले। एकछिनमा अर्को गोली । उनी क्षयरोगका बिरामी हुन् । दिनभरमा दस गोली खान्छन् रे ।

‘म टिबीको बिरामी हुँ । बिहान ८ वटा र बेलुका २ वटा गोली खान्छु । औषधिको डोज धेरै छ रे । डाक्टर साबले औषधि खाएपछि खाना खानु पर्छ भन्नु भएको छ,’ उनले भने, ‘खुला मञ्चमा खाना खुवाउँछ रे भन्ने सुनेर त्यो बेलादेखि आउन थालेको हुँ ।’

उनका अनुसार पहिले–पहिले २ छाक खाना आउँथ्यो। हिजोआज एक छाक मात्र । कहिलेकाहीँ चाहिँ बिहान पनि आउँछ र उनको पेट दिनभर सन्तोक मान्छ ।

दोलखा, जिरीका सुवासको गाउँको घर भुइँचालोले भत्काएपछि २०७२ सालमा काठमाडौंमा आएका रहेछन् । गाउँमा उनी खेती-किसानी गर्थे । अरू काम खासै नआउने भएकाले ज्यामी गरेरै पालिन्छु भन्ने थियो । आफ्ना बुवालाई बुढेसकालमा पाल्ने र एक मात्र सन्तान छोरीलाई शिक्षा दिने, उनको सपना पनि यत्ति नै हो ।

पाँच वर्ष काठमाडौंमा जेनतेन धानिए । करिब ८ महिनाअघि देखि भने उनलाई समस्याले गाँज्न थालेछ। सुवासकी श्रीमती पत्थरीकी बिरामी थिइन् । डाक्टरले शल्यक्रिया गर्नु पर्छ भने । सुवासलाई खर्च जुटाउन मुस्किल पर्‍यो ।

‘बल्ल बल्ल ऋण खोजेर पैसा जुटाएँ । अपरेसन सफल पनि भयो। तर त्यही दिन राती श्रीमतीले संसार छोडिन्,’ पैसा त सकिइसकेको थियो, त्यसले उक्साएको आश पनि मर्‍यो ।

अब फेरि किरिया पो कसरी गर्ने ?

‘यस्तोमा सघाउने केही संस्था रहेछन् । मैले ती संस्थालाई गुहारेँ । उहाँहरूले किरिया खर्च दिनुभयो,’ सुवासले भने ।

श्रीमतीको वियोग आफ्नै ठाउँमा थियो । बुवा र छोरीका लागि उनलाई कमाउनु थियो । आफ्नो ज्यामी काम छाडेनन् । कालीमाटीमा एउटा कोठा लिएर ३-४ जना साथीसगँ बसे ।

काम पाए भने त सुवासले दिनको एक हजार रुपैयाँसम्म कमाउँथे । तर एकदिन बिराएर काम पाए पनि ‘भाग्य’ हुन्थ्यो । व्यक्तिगत खर्च धेरै नभएकोले उनले २-३ महिनामा ७-८ हजार रूपैयाँ घरमा बुवा र छोरीलाई पठाउँथे ।

लकडाउनमा धेरैको रोजगारी गयो, कयौंको कोठा । उनले पनि दुवै गुमाए ।

‘जिन्दगी चलेकै थियो तर यो असत्ति कोरोना आइदियो। घरबेटी आफू पनि आफ्नो गाउँ गए र हामीलाई पनि तपाईंहरू अर्को कोठा खोज्नुस्, बरु पछि आउनुहोला भने,’ उनले सुनाए ।

त्यो बेलादेखि उनको बास कालिमाटीको पुलिस चौकी अगाडिका घरका पेटी हुन् । कोठामा ३-४ जनासँग बस्ने सुवासले पेटीमा उनी जस्तै ३५-४० जना भेटे ।

पेटीमा बस्न सहज कहाँ हुन्छ र! पेटीवाला घरबेटीले कोरोना सर्छ भनेर सुत्न नदिने त कहिले पानी पोखिदिने ।

‘यति मात्र होइन, कहिलेकाहीँ त प्रहरीले लौरीले घोचेर समेत दुःख दिन्छन्,’ उनले दुखेसो पोखे ।

उनलाई यो बेला घर जान मन नलागेको होइन । ७० वर्षका बुबाले फोनमा तारन्तार बोलाउँछन् ।

‘बाले सधैं बोलाउनु हुन्छ, तर कसरी जाने । न पैसा छ न गाडी । फेरि गाउँ गएपछि १४ दिन क्वारेन्टिनमा बस्नु पर्छ रे,’ सुवासले अब दसैंमा मात्र घर जाने सोच बनाएका छन् । अनि काठमाडौं नफर्कने योजना पनि बुनिसके । गाउँमा अलिअलि खेतीपाती छ । वस्तुभाउ छन् ।

‘कम्तीमा गाउँमा भोकले त मरिँदैन । भो अब त म काठमाडौं आउँदिनँ,’ उनी भन्छन्, ‘यहाँ त राज्यले नै हामीलाई लुट्यो, हाम्रो त देशै छैन । नागरिकता मात्र देश हो र हजुर ? यहाँ भएका हामी कसैको पनि देश छैन ।’

  • सुधिर भण्डारी/ सेतोपाटी
प्रकाशित : २०७७ भाद्र २०, शनिबार ०८:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ