अनलाइन कक्षा अवसर हो, यसलाई निरन्तरता दिनुपर्छ : मन्त्री पोखरेल


सुरेन्द्र सिंह/ महोत्तरी : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेले कोरोना महामारीको परिस्थितिमा नेपालको शिक्षा क्षेत्र पूर्ण रुपले ग्रस्त भएको बेला अनलाइन शिक्षा एउटा अवसर रहेको बताएका छन् ।

शनिबार प्रेस सङ्गठन नेपालले महोत्तरीको बर्दिबासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले यस्तो धारणा राखे । उनले रेडियो, टेलिभिजन र भर्चुअल (अनलाईन) माध्यमबाट भइरहेको पठनपाठनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

उनले भने, ‘हामीलाई यो कोरोनाले शिक्षा क्षेत्रमा नयाँ कुरा गर्ने एउटा अवसर पनि दिएको छ । तर यो अवसरलाई सदुपयोग गर्न स्थानीय तहबाट पहल गर्न जरुरी छ । अनलाइन कक्षालाई निरन्तरता दिनुपर्छ ।’

‘वैकल्पिक विधिमा घरमै सिकाइ, रेडियो, टेलिभिजन र भर्चुअल (अनलाइन ) कक्षा गरी चारवटै विधिमा पठनपाठन हुनुपर्छ’, मन्त्री पोखरेलले भने, ‘ विश्वविद्यालयमा समेत सोही विधिमा पठनपाठन हुन्छ ।’

सरकारले असार १ गते वैकल्पिक सिकाइ अभियान सुरु गरेपनि सबै विद्यालयले यसलाई लागू गराउन नसकेको उनले बताए ।

वैकल्पिक कक्षालाई प्रभावकारी बनाउन शिक्षण संस्थाले आफ्ना विद्यार्थीको खोजी गर्नुपर्ने भन्दै वैकल्पिक पठनपाठन विधि विद्यालयदेखि विश्वविद्यालयसम्म लागू गर्नुपर्ने उनले सुझाए ।

प्रकाशित : २०७७ भाद्र २०, शनिबार २१:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ