मेसुहरुलाई मुख्यमन्त्री राउतले भने- चुनौतीलाई अवसरको रुपमा प्रयोग गर्नुस्


टुडेखोज/ जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको चुनौतीलाई अवसरको रुपमा प्रयोग गर्न प्रदेश स्थित अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु)हरुलाई निर्देशन दिएका छन् ।

अस्पतालहरुको वर्तमान अवस्था र अगामी दिनहरुमा गर्नु पर्ने सुधारबारे छलफल गर्ने उद्देश्यका साथ आज मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सम्पन्न मेडिकल सुपरिटेन्डेन्टहरु सहितको प्रादेशिक कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकमा मुख्यमन्त्री राउतले यस्तो निर्देशन दिएका हुन् । उनले अस्पतालको सुधारका प्रदेश सरकार स्थापनाकाल देखी नै प्रयासरत रहे पनि पछिल्लो समयमा कोरोना महामारीले थप सुधारको आवश्यकता देखाएको हुँदा त्यसै अनुरुप प्रदेश सरकार अघि बढेको स्पष्ट पारे ।

मुख्यमन्त्री राउतले गत आर्थिक वर्षमा प्रदेश सरकारले अस्पतालको सुधारका लागि पठाएको रकम सदुपयोग हुन नसकेको उल्लेख गर्नु हुँदै चालु आवमा पठाइएको रकमको सत प्रतिशत सदुपयोग गर्न र थप आवश्यक सुधारबारे सुझाव दिन आग्रह समेत गरे । उनले भने, ‘यस प्रदेशमा स्वास्थ्य संस्थाहरुको अवस्था विगत देखी नै दयनिय छ । हामी सुधारका प्रयासहरु थालेका छौ, अहिलेको कोरोना महामारी चुनौतीको रुपमा रहे पनि स्वास्थ्य संस्थाहरुको सुधारको लागि यसलाई हामीले अवसरको रुपमा प्रयोग गर्नु पर्दछ ।’

कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले हर सम्भव प्रयास गरि रहेको उल्लेख गर्दै उनले अग्रणी भूमिकामा रहेको स्वास्थ्यकर्मी चिकित्सकहरुलाई उच्च मनोवलका साथ काम गर्न आग्रह समेत गरे । कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साहले अस्पतालहरुको सुधारमा प्रदेश सरकार हर सम्भव लगानी गर्न तयार रहेको उल्लेख गर्दै कोरोना महामारीनियन्त्रणमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा संघीय सांसद एवं विज्ञ समूहका सदस्य डा. सुरेन्द्र यादवले अस्पतालहरुमा रहेको स्रोत साधनहरुलाई अधिकतम प्रयोग गर्न सुझाव दिए । यस्तै जनकपुरधाम उपमहानगरका प्रमुख लाल किशोर साहले प्रादेशिक ल्याबको आफनै भवन निर्माणको लागि जग्गा उपलब्ध गराउन आफुले पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजविराज, भारदह अस्पताल, लहान अस्पताल, सिरहा अस्पताल, प्रादेशिक अस्पताल जनकपुरधाम, जलेश्वर अस्पताल, बर्दिवास अस्पताल, मलंगवा अस्पताल, चन्द्रपुर अस्पताल, कलैया अस्पताल र नारायणी उपक्षेत्रीय अस्पताल विरगंजका मेडिकल सुपरिटेन्डेन्टहरुले अस्पतालको वर्तमान अवस्था र अगामी दिनमा गर्नु पर्ने सुधारहरुबारे प्रस्तुती गरेका थिए ।

प्रकाशित : २०७७ भाद्र २३, मंगलवार १८:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ