जनकपुरमा पनि मनाइयो वीपी कोइरालाको १०७ औं जन्म जयन्ती


जनकपुरधाम : प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको आज १०७ औं जन्म जयन्ती । कोरोना भाइरसको संक्रमणका कारण औपचारिक कार्यक्रम प्रभावित बनेको छ ।

यद्दपी नेपाली काँग्रेसले विभिन्न जिल्लामा जन्म जयन्ती मनाएको छ । जनकपुरमा वीपी विचार राष्ट्रिय समाज धनुषाका सभापति सुरेश कोइरलाको सभापतित्व एवम् पुर्व साँसद चन्द्रमोहन यादवको विशेष आतिथ्यमा माल्यार्पण तथा मौन धारण कार्यक्रम सम्पन्न गरियो ।

कार्यक्रममा समाजका केन्द्रीय सदस्य तथा जनकपुरका पूर्व मेयर बजरंग प्रसाद साह, प्रदेश प्रमुख चुन्निरन यादब, धिरेन्द्र मोहन झा, प्रमेश्वर साह, जीत बहादुर राउत, ज्ञानेश्वर मण्डल, रामविलास धन्कर, उमेश ठाकुर लगायत नेता कार्यकर्ताको उपस्थिति थियो । कार्यक्रममा वक्ताहरुले वीपीको राष्ट्रिय र अन्तराष्ट्रिय सहितका योगदानको विषयमा चर्चा गरेका थिए ।

वीपीलाई यसरी चिनौं

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको जन्म विक्रम संवत् १९७१ भदौ २४ गते भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानु परेको थियो ।

भारत निर्वासनकै क्रममा उनको नेतृत्वमा विक्रम संवत् २००३ मा नेपाली राष्ट्रिय काँग्रेसको स्थापना भएको थियो । प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेसका बीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो । दुवै दल एकीकृत भई बनेको नेपाली काँग्रेस अहिले पनि संसदमा प्रमुख प्रतिपक्षी दलका रुपमा क्रियाशील छ ।

क्रान्तिको सफलतापछि मोहन शम्शेरको नेतृत्वमा बनेको राणा–काँग्रेस सरकारमा वीपी गृहमन्त्री बनेका थिए । २०१५ सालको आमनिर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि उनी प्रथम जननिर्वाचित प्रधानमन्त्री बने । उनको प्रधानमन्त्रीत्व कालमा बिर्ता उन्मूलन गरी भूमिसुधार कार्यक्रम लागू भएको थियो ।

तर विसं २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइराला लगायतका नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । सुन्दरीजल बन्दी गृहमा राखिएका विपी विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएपछि आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए ।

२०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किएका उनको क्यान्सर रोगबाट विसं २०३९ साउन ६ गते निधन भएको थियो ।

प्रकाशित : २०७७ भाद्र २४, बुधबार १४:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ