महोत्तरी : जनप्रतिनिधिले पत्रकारको हात र जिब्रो काट्ने ! महासंघको आपत्ति


सन्तोष यादब/ जनकपुरधाम : महोत्तरीको बर्दिबास नगरपालिका ६ किसान नगरमा क्रसर माफियाले नदी उत्खनन गर्न तटबन्ध भत्काएको समाचार लेख्ने पत्रकारलाई जनप्रतिनिधिले हात र जिब्रो काट्ने धम्की दिएका छन् ।

तीन दिन अगाडी पत्रकारद्वय सुरेन्द्र सिंह र ललन मण्डलले क्रसर माफियाको बदमासीबारे समाचार लेखेका थिए । सोही विषयलाई लिएर अहिले सामाजिक सञ्चालमा हिंसालाई बढावा दिने खालको टिप्काटिप्पणी भइरहेको छ । कारण हो– क्रसर माफियासँग जनप्रतिनिधिको साँठगाठ ।

सुमित बालुवा प्रशोधन उधोगले रातो नदीमा अवैध उत्खननका लागि बाटो बनाउन तटबन्ध भत्काएको समाचार बाहिर ल्याएपछि बर्दिबास नगरपालिका ७ का वडाध्यक्ष फाल्गुण सुसलिङ मगरले फेसबुकमा स्टाटस लेखे । उक्त स्टाटसमा बाबु चौलागाईको नामको व्यक्तिले पत्रकारको ‘हात र जिब्रो काट्ने’ भन्दै कमेन्ट वस्कमा टिप्पणी गरे ।

चैलागाइले गरेको टिप्पणीमा वडा अध्यक्ष मगरले ‘हजुर, त्यसको लागि त तयार छु जुध्न’ भन्ने रिप्लाई गरेका छन् । वडाध्यक्ष मगरको भाषा आपत्ति जनक छ । उनले पत्रकारलाई तानाशाही शैलीमा जे पनि गर्न सक्छन् भन्ने स्पष्ट भएको छ ।

वडाध्यक्षले प्रयोग गरेको भाषाप्रति पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासँघले आपत्ति जनाएका छन् । महासँघका महोत्तरी अध्यक्ष कमलेश मण्डलले विज्ञप्ती जारी गरी भनेका छन्, ‘जनप्रतिनिधिले गरेको टिप्पणी हिंसालाई बढावा दिएको हाम्रो ठम्याई छ ।’

‘आफ्नो वडा÷नगरमा अवैध उत्खनन् गर्ने कार्य नरोक्ने, विकास संरचनाको संरक्षणतर्फ उदाशिन देखिने तर यि विषय उठाउने पत्रकार विरद्ध हात काट्ने र जिब्रो थुत्नेसम्मका टिप्पणीमा समर्थन जनाउने जनप्रतिनिधको काम उदेक लाग्दो नै छ’, विज्ञप्तीमा भनिएको छ, ‘यसरी प्रेस स्वतन्त्रताको धज्जी उडाउने र पेशामाथि नै प्रहार हुने गरी भएको घटनाको घोर भत्र्सना गर्दछौं ।’

महासँघले दोषीमाथि छानविन गरी सम्मानजनक र सुरक्षित रुपमा पत्रकारलाई काममा लाग्ने वातावरणको सृजन ागर्न जनप्रतिनिधिहरु, सुरक्षा निकाय र सरोकारबाला सबैसँग अपिल गरेको छ । साथै घटनाको सत्यतथ्य बुझ्न ५ सदस्य छानविन समिति समेत महासँघले गठन गरेको छ ।

हेमकुमारी बराल (सुनिता)को संयोजकत्वमा राजकरण महतो, विक्रम रौनियार, गोपाल बराल र अनिता खनाल सदस्य रहनेगरी छानविन समिति गठन गरिएको छ । समितिले ७ दिनभित्रै प्रतिवेदन पेश गरेपछि महासँघ महोत्तरीले थप निर्णय गर्ने जनाएको छ ।

यस्तै बर्दिबास नगर पत्रकार सञ्जालका अध्यक्ष विक्रम प्रसाद रौनियार र प्रेस संगठन नेपाल महोत्तरीका संयोजक राजकरण महतोले समेत संयुक्त रुपमा विज्ञप्ती जारी गरेर पत्रकारलाई जनप्रतिनिधिले प्रयोग गरेको धम्कीपुर्ण भाषाप्रति आपत्ति जनाएका छन् ।

प्रकाशित : २०७७ भाद्र २६, शुक्रबार १५:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ