गाउँपालिका अध्यक्षलाई भारतबाट आयो ज्यान मार्ने धम्की !


टुडेखोज/ इनरुवा : सुनसरीको कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीलाई भारतबाट ज्यान मार्ने धम्की आएको छ ।

धम्की आएपछि अध्यक्ष अन्सारीले प्रहरीमा उजुरी गरेका हुन् । सुनसरी प्रहरीले धम्की दिएको आरोपमा भारतीय नागरिक तथा ठेकेदार बल्लु भगतलाई नियन्त्रणमा लिएको छ । उनीमाथि अनुसन्धान गरिरहेको प्रहरी स्रोतले जनाए ।

स्रोतका अनुसार अध्यक्ष अन्सारी र ठेकेदार भगतबीच केहि दिनदेखि विवाद चल्दै आएको थियो । अध्यक्ष अन्सारीले भगतलाई भण्टाबारी प्रवेशमा रोक लगाएका थिए । जसका कारण भगत अन्सारीमाथि आक्रोसित भए ।

शुक्रवार राति सदरुलले मनोज यादवलाई फोन गरेका थिए । मनोजको फोन समातेर भगतले गाउँपालिका अध्यक्ष अन्सारीलाई गोली मारिदिने धम्की दिए । सो कुरा सदरुल अध्यक्ष अन्सारीलाई सुनाए । त्यसपछि अध्यक्ष अन्सारीले प्रहरीमा धम्की दिने भगत विरुद्ध उजुरी गरेको बताइएको छ ।

मनोज कोशी गाउँपालिकाकै हुन् । उनी पनि ठेकेदारी गर्छन् । त्यसैले भारतीय ठेकेदार (धम्की दिने) भगतसंग उनको राम्रो सम्बन्ध रहेको स्रोतले जनाए । भगत आफ्नो क्षेत्रका ‘डन’ रहेको स्थानीयको भनाई छ ।

भदौ २४ गते सिमा प्रहरी चौकी भण्टाबारीमा बसेको बैठकमै ठेकेदार भगतलाई भण्डावारी प्रवेशमा रोक लगाएको निर्णय समेत सार्वजनिक भएको छ ।

बैठकको प्रस्ताव नम्बर २ मा ‘भारत बिरपुरका बल्लु नाम गरेका व्यक्ति लकडाउन भएता पनि निरन्तर रुपमा आवतजावत गर्दै पटक पटक अशान्ती गरेको हुनाले आजैको मिति २०७७।५।२४ गते बाट निज व्यक्तिलाई कोशी गाउँपालिका ८ भाण्टाबारी आउनमा रोक लगाउने नमानेको खण्डमा प्रहरी प्रशासन तथा स्थानीय जनप्रतिनिधीहरुलाई जानकारी गराई आवश्यक कानुनी कार्वाही गर्ने निर्णय भयो’ उल्लेख छ ।

उनलाई नेपाल प्रवेशमा रोक लगाएकै कारण आक्रोसित भएर भारतीय नागरिक भगतले अध्यक्ष अन्सारीलाई धम्की दिएको हुनसक्ने प्रहरीको भनाई छ । धम्की दिएको प्रमाणित भए उनलाई कानुन बमोजिम कारबाही हुने बताइएको छ ।

यता, पक्राउ परेका भगत पक्षका व्यक्तिहरुले अध्यक्ष अन्सारी उनलाई फसाउन खोजेको बताइरहेका छन् ।

प्रकाशित : २०७७ भाद्र २७, शनिबार २०:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ