धनुषा : प्रलोभन देखाएर बलात्कार, मुद्दा दर्ता गर्न आलटाल !


टुडेखोज/ जनकपुरधाम : लक्ष्मी कुमारी (नाम परिवर्तन)करिब १७ वर्षकी भइन् । हेर्दा लाग्दैन कुनै समस्यामा परेकी छन् । तर उनको पीडा पहाड भन्दा सानो छैन । फिल्ममा जस्तै उनीसँग घोर अन्याय भएको छ ।

जनकपुरदेखि करिब १८ किलोमिटरको दुरीमा पर्छ धनुधाधामको सरसा गाउँ । यहीँ एउटा फुसको घरमा बस्छिन् उनी । घरमा अहिले भाउजु, आमा, बुवा र हजुरआमा पनि बस्छन् ।

दुई वर्ष अगाडी उनी आमाले पथ्थरीको अप्रेशन गराइन् । करिब २ महिना अस्पतालमै विताउनु पर्यो । उनी आमासँगै बुवा पनि बसे– हेरचाँह गर्न । उनको दाई जनकपुरमा विद्युत पोड गाड्थे । विहे भएको थिएन ।

सबै आआफ्नो काममा व्यस्त थिए । उनी एक्लै घरमा बस्थिन् । परोसी भरतमान श्रेष्ठ र उनका दाई राममान श्रेष्ठ पटक पटक ललाई फकाई जर्वजस्ती (बलात्कार) गरे । त्यतिबेला लक्ष्मी गाउँकै सरकारी विद्यालको कक्षा ७ मा पढ्दै थिइन् ।

श्रेष्ठ र लक्ष्मीको घर टाँसिकएकै छ । श्रेष्ठ परिवार विगतका जमिनदार हुन् । घरमा कोही नभएको मौका छोपेर कहिले भरतमान त कहिले राममान इशारा गरेर लक्ष्मीलाई आफ्नो घर बोलाउँथे । कैयौं दिन मुख थुनेर जर्वजस्ती गरे– पालैपालो ।

विगत सम्झिदै लक्ष्मी भन्छिन्, ‘पहिलो दिन १ हजार रुपैया दिएर बलात्कार गर्यो । त्यसपछि कहिले लुगा किनिदिन्छु त कहिले सरिफा र अनार दिन्छु भनेर बलात्कार गर्यो । मेरो घरको पछाडी ट्वाइलेट छ, ट्वाइलेट गर्न जाँदा इशारा गरेर बोलाथ्यो ।’

कलिलो उमेरमा पटक पटक बलात्कृत भएकी लक्ष्मी पछि मानसिक रोगी जस्तै भइन् । कसैलाई भने मारिदिने धम्कीका कारण डरले उनी घरपरिवारमा घटनाबारे कसैलाई बताउन सकेकी थिइनन् । आमा उपचार गराएर घर फर्केपनि छोरीमाथि भइरहेको अन्यायबारे थाहा पाइनन् ।

०७६ जेठ –असारमा लक्ष्मी कहिले रुन कराउन थाले, त कहिले राति राति भाग्न खोज्थिन् । उनको दिमाग काम गर्नै छाडेको हुनुपर्छ । आमा–बुवासँग पनि कुनै बेला डराउँथिन् । जे सुर लाग्यो, त्यही गर्न थालिन् ।

आमा–बुवाले भुतप्रेत लागेको भन्दै कैयौं धामीसँग देखाइन् । तर निको भएन् । त्यसपछि धेरैले भन्यो डाक्टरसँग चेकअप गराउन । बुवाले लक्ष्मीलाई लिएर ०७६ साउनको दोस्रो साता विराटनगर पुगे ।

विराटनगरको नोबेल अस्पतालमा लक्ष्मीलाई डाक्टरसँग देखाए । लिएर गएको सबै ३० हजार रुपैया खर्च भइसक्यो । अनी घर फिर्ता आए । डाक्टरले भनेअनुसारको औषधी महिनौं खुवाए । ठिक भएन ।

पुनः लक्ष्मीलाई बुवाले धरान लिएर गए । त्यहाँका डाक्टरले पनि पटक पटक जर्वजस्ती गरेका कारण लक्ष्मी यस्तो हालतमा पुगेको भन्यो । त्यसपछि आफुमाथि भएको अन्यायका बारे बुवालाई उनले बताइन् ।

डाक्टरले औषधीहरु दिएर ठिक भइहाल्ने बचन दिए । अनी अस्पतालबाट घर फर्के । महिनौंसम्म लक्ष्मीलाई औषधी खुवाए आमा–बुवा । अहिले पनि केहि औषधी खाइरहेकी छन् उनी । विगतको भन्दा केहि सुधार भएको छ । तर पुर्ण रुपमा दिमाग काम गरिरहेको छैन ।

लक्ष्मीका बुवा भन्छन्, ‘अस्पतालमा उनीमाथि भएको अन्यायका कुराहरु सुनेपछि मेरो पनि दिमाग काम गर्न छोड्यो । आश्चर्य लाग्यो । जोमाथि आरोप लगाएको छ– उसलाई जहिल्यै मामा भन्थिन् उनी (लक्ष्मी) ।’ घर फर्किदा न्याय पाउन प्रहरीमा उजुरी गर्ने सोचेपनि लकडाउनमा जनकपुर जान सकिनँ– उनले भने ।

गाउँमा समाजका अगुवाहरुलाई घटनाबारे लक्ष्मीका बुवाले बताएपछि सबैले एकपटक छलफल गर्न भन्यो । भदौं १५ मा गाउँकै पिपल चौतारामा छलफल भयो । आरोपी राममान र भरतमानलाई पनि बोलाइयो । गाउँका करिब सयौं मानिस भेला भए ।

छलफल लामो समय चल्यो । सुरुमा राममान र भरतमानले आफुले केहि नगरेको जिद्द गरे । पछि भरतमानले गल्ती भएको भन्दै माफि मागे । राममानले गल्ती स्वीरेनन् । लक्ष्मीका बुवा माफि माग्दैमा नछाड्ने र प्रहरीमा उजुरी गरेर कारबाही गराउने अडान लिए ।

कारबाही हुनुपर्ने अडान नछाडेपछि उनीमाथि राजनीतिक दबाब आउन थाल्यो । केहिले गाउँमै न्याय दिलाइदिने वाचा गरे । कतिले पैसा लिएर मिलापत्र गर्न भन्यो । तर लक्ष्मीका बुवा भदौं २२ मा जिल्ला प्रहरी कार्यालय धनुषा पुगेर प्रहरी प्रमुखलाई दुःख पीडा सुनाए ।

प्रहरीले उजुरी लिएर आउन सुझाए । उनी भदौं २३ मा भरतमान र राममानमाथि जर्वजस्ती करणी सम्बन्धी जाहेरी लिएर पुगे । मुद्दा फाँटले उनको उजुरी राख्यो । तर दर्ता भएको छैन ।

धनुषाका प्रहरी प्रमुख एसपी रमेश प्रसाद भट्टराईले घटनाबारे थाहा पाएपछि अनुसन्धान गरिरहेको बताए । किशोरीको मेडिकल गराएर आवश्यक अनुसन्धानका लागि फाइल ईलाका प्रहरी कार्यालय धनुषाधाम पठाएको उनको भनाई छ ।

उनले भने, ‘पीडित परिवारले कहिले के भन्छ । कहिले के । पीडित भनिएकी किशोरीको मानसिक अवस्था पनि ठिक छैन । हामीले अनुसन्धान गर्दैछौं । जिस्टमा पुगेर के गर्न सकिन्छ भन्ने निर्णय लिन्छौं ।’

यता, महिला अधिकारकर्मी गुञ्जा रायले प्रहरीले मुद्दा दर्ता गर्न आलटाल गरिरहेको आरोप लगाइन् । पीडक परिवारको दबाबका कारण प्रहरीले मुद्दा दर्ता गर्न नचाहेको र फाइल धनुषाधाम पठाएको बहाना बनाइरहेको बताइन् । धनुषाधाम प्रहरीमा गएर बुझ्दा जिल्लाले नै हेर्छ भनिरहेको उनको भनाई छ ।

उनी भन्छिन्, ‘बलात्कार प्रयासमा त मुद्दा चल्छ । अनी पटक पटक ललाइ फकाई बलात्कार गरेको र सोही कारण किशोरीको मानसिक अवस्था समेत गुमेको घटनामा मुद्दा दर्ता गर्न किन आलटाल गर्नुपर्यो ? प्रहरीले निष्पक्ष रुपमा कारबाही अगाडी बढाउनुपर्छ ।’

प्रकाशित : २०७७ भाद्र २९, सोमबार १६:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ