विकास बजेटको सदुपयोग गर्न जनतासँग साँसद अरगरियाको आग्रह


टुडेखोज/ जनकपुरधाम : धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय साँसद तथा जनता समाजवादी पार्टीका नेता उमाशंकर अरगरियाले विकास बजेटको सदुपयोग गर्न जनतासँग आग्रह गरेका छन् ।

हँसपुर नगरपालिका ६ सोनिगामामा पार्टीद्वारा आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै साँसद अरगरियाले विकास बजेटको सदुपयोग गरेमा केहि वर्षमा यस क्षेत्रका सबै समस्या समाधान हुने बताए । उनले उपभोक्ताका लागि पनि लडाइ गर्दा विकासका लागि आएको धेरै रकम फ्रिज भइरहेकोमा चिन्ता व्यक्त गरे ।

उनले भने, ‘यतिधेरै बजेट यस क्षेत्रमा ल्याएपनि कसैसँग एक रुपैया मागेको छैन । यदि मागेको छु भने भन्नुस् । तर भ्रष्टाचार गर्नकै लागि उपभोक्ता बन्न जताततै लफडा भइरहेको छ । यसरी लफडा नगर्नुस् । म एक रुपैयाँ खाँदिन, तपाईहरु पनि नखानुस् ।’

साँसद अरगरियाले आफु निर्वाचित क्षेत्रका ४४ वडामध्ये अधिकांश क्षेत्रमा विजुली पुर्याएको दावी गरे । उनले भने, ‘म निर्वाचित भएपछि यस क्षेत्रका पुर्वी भेगका दर्जनौं गाउँमा विजुली पुर्याएका छौं ।’ उनले अब सिँचाई, स्वास्थ्य, शिक्षा र सडकको अवस्था सुधार्न लागिपरेको विश्वास दिलाए ।

उनले आफैले पहल गरेर यस क्षेत्रका हरेक वडामा स्वास्थ्य चौकीका लागि पनि बजेट ल्याएको बताए । उनले हरेक सिँचाई आयोजनामा पनि करोडौं करोड रकम आएको भन्दै उक्त रकमको सदुपयोग गर्न इमान्दारिताका साथ काम गर्न सबैसँग आग्रह गरे ।

प्रकाशित : २०७७ भाद्र २९, सोमबार २०:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ