कोरोना बीमा १ लाखको, तर अब २५ हजार मात्र पाउने !


टुडेखोज/ काठमाडौं : एक लाख रुपैयाँको कोरोना बीमा गरेकालाई दाबी भुक्तानी भने २५ हजार रुपैयाँ मात्रै दिइने बीमा समितिले निर्णय गरेको छ ।

व्यक्तिगत रुपमा ६ सय रुपैयाँ शुल्क र पारिवारिक रुपमा ३ सय रुपैयाँ शुल्क बुझाएर १ लाखको बीमा गर्नेले अब कोरोना पुष्टिपछि २५ हजार रुपैयाँ मात्र पाउने छन् । ५० हजारको बीमा गर्नेले पनि कोरोना पुष्टिपछि २५ प्रतिशत मात्रै अर्थात १२ हजार ५ सय पाउने बताइएको छ ।

सोमबारदेखि लागू हुनेगरी कोरोना बीमाको मापदण्ड संशोधन गरिएको छ । अब समितिले कोरोना पुष्टिपछि २५ हजार रुपैयाँ र त्यसपछि औषधि उपचारका लागि हुने खर्च बिल भर्पाईका आधारमा मात्रै दिनेछ ।

संक्रमित घरमा वा होटलमा बसेको वा खाना खाएको खर्चको बिल पनि भुक्तानी नहुने समितिले जनाएको छ । भदौ २८ अघि जारी गरिएका बीमा हकमा भने पूरानै व्यवस्था लागू हुनेछ । अर्थात पूर्ण रकम १ लाख वा ५० हजार नै भुक्तानी हुनेछ ।

बीमा गर्नेहरुको संख्या उच्च भएपछि समितिले आफ्नो मापदण्ड संशोधन गरेको छ । हालसम्म करिब ४ सय जनाले कोरोना बीमाको भुक्तानी लिएका छन् भने १२ सयले क्षतिपूर्तिका लागि दावी गर्दै बीमा कम्पनीहरुमा निवेदन दिएको समितिले जनाएको छ ।

१३ लाखभन्दा बढी संख्याले बीमा गरेको र ७५ करोड रुपैयाँ बराबर प्रिमियम रकम संकलन भएको छ । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मान्यताप्राप्त प्रयोगशालाको पिसिआर परीक्षण रिपोर्टलाई पनि मान्यता दिइने भएको छ ।

कोरोना बीमाको भुक्तानीका लागि प्रक्रिया पुर्‍याएर आवेदन दिएको ७ दिनभित्रमा भुक्तानी गर्नुपर्ने मापदण्ड बनाइएको छ ।

प्रकाशित : २०७७ भाद्र २९, सोमबार २२:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ