आज विश्वकर्मा पूजा, किन गरिन्छ सवारी र मेशिनरी समानको पूजा ?


टुडेखोज, जनकपुरधाम : आज आश्विन संक्रान्तिका दिन अर्थात विश्वकर्मा पूजा । प्रविधि र मेशिनरीहरूको पूजा गरी भगवान विश्वकर्मालाई सम्झने दिन हो ।

अश्विन संक्रान्तिको दिन भगवान विश्वकर्माको जन्म भएको थियो । यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । नयाँ सवारीसाधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने भएकाले भद्रकाली, दक्षिणकालीलगायत मन्दिरमा दर्शनार्थीको अत्याधिक भीड लाग्छ ।

विश्वकर्मा पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदूरहरूले गर्छन् । सवारी साधनलाई समेत पूजा गर्ने भएकाले आजको दिन थोरै सवारी साधन चल्ने गर्छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको थियो । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको छ ।

प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको विश्वास गरिन्छ ।

विश्वकर्माको पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक उर्जा दिन्छ र काममा आउने सबै बाधा अड्चनहरुलाई तोडिदिन्छ भन्ने आत्ध्यात्मिक विश्वास रहेको छ ।

प्रकाशित : २०७७ आश्विन १, बिहीबार ०७:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ