आजदेखि सञ्चालनमा आयो लामो दूरीका सवारी साधन


टुडेखोज, जनकपुरधाम : आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालनमा आएको छ । कोरोना सङ्क्रमणबाट सुरक्षित रहने कडा मापदण्ड अपनाएर सरकारले सार्वजनिक यातायात सञ्चालन खुला गरेको हो ।

बुधबार यातायात व्यवसायी, प्रहरी र यातायात व्यवस्था विभागका सरोकारवालालाई मन्त्रालयमा बोलाएर मन्त्री वसन्तकुमार नेम्बाङले सुरक्षा मापदण्ड कुनै पनि हालतमा कार्यान्वयन गर्न निर्देशन दिएका थिए । त्यसको अनुगमन ट्राफिक प्रहरी, विभाग, स्थानीय तहले गर्ने सहमति भएको छ ।

कुनै पनि सार्वजनिक सवारीसाधनले सिट क्षमताभन्दा आधा यात्रु मात्र चढाउनुपर्ने नियम कडाइसाथ पालन गर्नुपर्ने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनका अनुसार प्रहरीले ठाउँठाउँमा चेक गर्नेछ । साबिक भाडामा ५० प्रतिशत बढाएर लिने तर सिट क्षमताको आधा यात्रु मात्र चढाउन पाइन्छ ।

यात्रु तथा बसका कर्मचारीले अनिवार्य रूपमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्नुपर्नेछ । सामाजिक दूरी पनि कायम हुनुपर्ने छ । यी नियम ट्राफिक प्रहरीले कडाइका साथ लागू गराउने बताइएको छ ।

लामो तथा मध्यम दूरीका यात्रुलाई खाजा तथा खाना स्थानीय प्रशासन र व्यवसायी सङ्घले नै समन्वयन गरेर खुवाउनुपर्ने छ । लामो दूरीका बसले बीच बाटोमा यात्रु चढाउने वा अनावश्यक कामका लागि रोक्न पाइने छैन ।

व्यवसायीहरूले बिहीबार बिहानसम्म बस सञ्चालनको कार्यविधि उपलब्ध गराउन पनि माग गरेका छन् । यसअघि मन्त्रिपरिषद्ले लामो दुरीका सवारी साधन खुला गर्दै कार्यविधि बनाउने जिम्मा भौतिक तथा यातायात मन्त्रालयलाई दिएको थियो ।

यात्रुले अनिवार्य रूपमा मास्क प्रयोग गर्नुपर्नेछ । यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा र भित्र अनिवार्य रूपमा सेनिटाइजर राख्नुपर्नेछ । चालक र सहचालकले भाइजर, पन्जा र मास्क अनिवार्य लगाएको हुनुपर्नेछ । दैनिक रूपमा बस डिसइन्फेक्ट गर्नुपर्नेछ ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ देखि नै लामो र मध्यम दुरीका सवारी साधन संचालनमा सरकारले रोक लगाएको थियो ।

प्रकाशित : २०७७ आश्विन १, बिहीबार ०९:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ