प्रदेश २ मा भोरले सुरु गर्दै सोहजन खेती, यस्तो छ फाइदा


जनकपुरधाम : प्रदेश २ मा सोहजनको खेती सुरु गरिने भएको छ । भोर नामक संस्थाले सर्लाहीको चन्द्रनगर गाउँपालिकामा ३० बिघा जग्गामा सोहजन खेती सुरु गर्न लागेको हो ।

निकट भविष्यमै सोहजन खेती सुरु गर्न आवश्यक तयारी थालेको भोरका संस्थापक अध्यक्ष राजकुमार महतोले जानकारी दिए । सोहजन खेतीका लागि त्यहाँका किसान र गाउँपालिकाका जनप्रतिनिधिबीच छलफल भइरहेको उनले बताए ।

प्रदेशका अन्य ठाउँमा पनि सोहजन खेती गर्नका लागि राष्ट्रियस्तरमा यसको फाइदाबारे जनजागरण अभियान संचालन गर्नेछ । छलफल पश्चात तीनै तहका सरकारलाई भोर संस्थाले सोहजन खेतीबारे प्राविधिक सहयोग गर्ने अध्यक्ष महतोको भनाई छ ।

यो खेतीलाई व्यापकता दिन पैसा भएको निजी कम्पनीसित सहकार्य गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको बजारीकरणका लागि समेत सहकार्य गर्ने अध्यक्ष महतोको योजना रहेको छ ।

उनका अनुसार सोहजन स्वास्थ्य, पोषण, सौन्दर्य, वातावरण र समृद्विका लागि उपयोगी मानिन्छ । सोहजनले पिपलभन्दा पनि बढी अक्सिजन दिन्छ । अमला र अण्डालगायतका खाद्यवस्तुभन्दा सोहजनमा धेरै प्रोटिन हुन्छ ।

कलेजोलाई शुद्ध बनाउने, क्यान्सर रोकथाम गर्ने, स्मरणशक्ति बढाउने, पाचन प्रणाली मजबुत बनाउने, मधुमेह नियन्त्रण गर्ने, रोग प्रतिरोधक क्षमता बढाउने गुण समेत सोहजनमा रहेको अध्यक्ष महतोले सुनाए । उनका अनुसार साबुन, तेल, क्रिमसहितका सौन्दर्य बढाउने उत्पादनसमेत यसबाट गर्न सकिन्छ ।

विश्वभर अहिले बार्षिक २६ मिलियन अमेरिकी डलरको सोहजनको व्यापार भइरहेको र दिनप्रतिदिन व्यापार बढ्दै गएको छ । नेपालमा सोहजनलाई तरकारीको रुपमा मात्रै प्रयोग गरिदै आएको छ ।

प्रकाशित : २०७७ आश्विन १, बिहीबार १८:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ