जनकपुर– जयनगर रेलको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने ?


टुडेखोज, जनकपुरधाम : जनकपुर (कुर्था)–जयनगर रेलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने बुझिएको छ । रेल सेट शुक्रवार मध्यान्ह जनकपुर आइपुग्दैछ ।

बिहीवार साँझ रेल सेट जयनगर आइपुगेको छ । त्यहाँ रेल हेर्न ठूलो भीड जम्मा भएको छ । रेल जनकपुर शुक्रवार आइपुगेपनि औपचारिक रुपमा कहिलेदेखि संचालन हुने मिति तय भएको छैन । तर दसैं अघि नै रेल संचालनको तयारीमा कम्पनी जुटेको छ ।

रेल्वे विभागले १२९ कर्मचारीको भर्ना खोलेको छ । कर्मचारीका लागि फोरम भर्ने मिति असोज १२ गतेसम्म राखिएको छ । त्यसपछि प्रक्रिया पुर्याएर कर्मचारी भर्ना भएलगत्तै रेल संचालन गरिने बताइएको छ । रेल संचालनका लागि केहि प्राविधिक भने तत्कालका लागि भारतबाटै ल्याइनेछ ।

क्रस बोर्डर रेल संचालन गर्न भारतसंग रेल्वे सेवा सम्झौंता गर्नुपर्छ । रेल मर्मतका लागि समेत सम्झौता गर्न बाँकी छ । केहि दिनभित्रै सबै सम्झौता गरिने सरकारको तयारी छ ।

जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्ग भारतले आर्थिक र प्राविधिक सहयोगमा निर्माण गरिदिन लागेको छ । जयनगरदेखि जनकपुरको कुर्थासम्म करिब ३४ किलोमिटर रेलमार्ग तयार भइसकेको छ ।

प्रकाशित : २०७७ आश्विन १, बिहीबार २०:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ