कुलमानले समर्थकलाई भने- सडकमा प्रदर्शन नगर्नुस्


काठमाडौं : नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्ना समर्थकहरुलाई सडकमा प्रदर्शन नगर्न अपील गरेका छन् ।

पछिल्ला केही दिनयता उनको पक्षमा संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा प्रदर्शन भएको र ती प्रदर्शनमा प्रहरी हस्तक्षेप हुँदा केही घाइतेसमेत भएको सन्दर्भमा घिसिङले संयम अपनाउन अपील गरेका हुन् । घिसिङले शनिबार विज्ञप्ति निकालेरै प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने जनाए ।

विज्ञप्तिमा घिसिङले भनेका छन्, ‘नेपाल सरकारले मलाई कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु । प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसात गर्नै पर्छ । प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ ।’

विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९ ले नेपाल पनि आक्रान्त भएका बेला सडकमा भिडभाड नगर्न र प्रदर्शन नगरिदिन घिसिङले सबै समर्थकसँग अनुरोध गरेका छन् ।

प्रकाशित : २०७७ आश्विन ३, शनिबार १२:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ